नारायणगढ, साउन १४ गते। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवाला निकायबीचको साझेदारी अपरिहार्य रहेको बताउनुभएको छ। मानव बेचबिखन तथा यौनजन्य हिंसाविरुद्धको साझा अभियान चितवनले आज भरतपुरमा ‘अन्तरराष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस’को सन्दर्भमा एक कार्यक्रम आयोजना गरेको थियो।
सो कार्यक्रममा उहाँले पछिल्लो समय सामाजिक सञ्जाल, अनलाइन डेटिङ एप्स, म्यारिज ब्यूरो, विभिन्न प्रकारका भिसा (भिजिट, डिपेन्डेन्ट, सिजनल, एजुकेसन, कल्चरल) र सरोगेसीको नाममा हुने शोषणलाई मानव बेचबिखनका नयाँ प्रवृत्तिको रूपमा रहेको बताउनुभयो। उहाँका अनुसार गत आर्थिक वर्षमा मात्रै १५२ वटा मुद्दा दर्ता भई २४१ आरोपी पक्राउ परेका छन्। १८४ जना पीडितको उद्धार गरिएको छभने सो मध्ये ९० महिला र नौ बालिका छन्। उहाँले मानव बेचबिखन तथा यौनजन्य हिंसा पुरुषबाट मात्रै नभइ महिलाबाटसमेत हुने गरेको उल्लेख गर्नुभयो।
सो अवसरमा भरतपुर महानगरपालिका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले मानव बेचबिखन र लैङ्गिक हिंसा नियन्त्रणका लागि सबै सरोकारवालाबीच साझा प्रयास आवश्यक रहेकामा जोड दिनुभयो। महानगरले सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, रोजगारी, अनाथालय व्यवस्थापन र हिंसा नियन्त्रणका लागि रु एक अर्ब १५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
माडी नगरपालिका उपप्रमुख खेमप्रसाद महतोले माडी क्षेत्र मानव बेचबिखन तथा ओसारपसारका लागि प्रमुख गन्तव्य बन्दै गएकामा गम्भीर चिन्ता व्यक्त गर्नुभयो। प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले चितवन जिल्लामा करिब ४० प्रतिशत बालबालिकाका अभिभावक वैदेशिक रोजगारीमा रहेको जानकारी दिनुभयो। जसले गर्दा पारिवारिक बिखण्डन, निगरानीको अभाव र सामाजिक समस्या निम्तिने उहाँले बताउनुभयो। रासस