• १ असार २०८२, आइतबार

पाँच प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण

blog

मकवानपुर समाचारदाता

मकवानपुर, असार १ गते  । चालु आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशले करिब पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८१/८२ प्रदेश सभामा प्रस्तुत गर्दै चालु आवमा ५.१८ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान गर्नुभएको हो । 

सर्वेक्षण अनुसार फागुनसम्म प्रदेश सरकारले कुल आन्तरिक राजस्व बाँडफाँट र नगद मौज्दात ४४ अर्ब ५६ करोड ५३ लाख अर्थात् वार्षिक अनुमानको ६९.०५ प्रतिशत प्राप्त गरेको छ । नेपालको समग्र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड रहने अनुमान गरिएका बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.५२ प्रतिशत अर्थात् २२ खर्ब ३० अर्ब २३ करोड रहने अनुमान पनि सर्वेक्षणमा प्रस्तुत गरिएको छ । 

समीक्षा अवधिमा बागमती प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ११.८ प्रतिशत, उद्योगमा ११.१३ र सेवा क्षेत्रको ७७.०७ प्रतिशत रहेको उल्लेख छ । यस्तै बागमती प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन दुई हजार ६०१ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । 

फागुनसम्म प्रदेश सरकारले १६ अर्ब ५३ करोड ४३ लाख ९२ हजार अर्थात् २५.६२ प्रतिशत खर्च गरेको छ । जसमध्ये चालुतर्फ ३५.२२ प्रतिशत र पुँजीगततर्फ १९.९४ प्रतिशत खर्च भएको छ । यस अवधिमा वित्तीय साक्षरता ६४.५ प्रतिशत रहेको र सबै पालिकामा बैङ्क र वित्तीय सेवाको पहुँच विस्तार भएको पनि सर्वेक्षणमा उल्लेख गरिएको छ । 

सर्वेक्षण अनुसार गत फागुनसम्म थप ३८.२ किलोमिटर नयाँ सडक र १०२.१८ किलोमिटर पक्की सडक तथा स्तरोन्नति भएको भएको छ । यसअवधिमा वैकल्पिक ऊर्जासहित ९९.९७ जनसङ्ख्यामा विद्युत् पहुँच र जम्मा घरधुरीको ९२.३५ मा आधारभूत खानेपानी सुविधा पुगेको पनि उल्ल्ेख गरिएको छ । 

प्रदेशमा साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । शैक्षिक सत्र २०८१ मा आधारभूत तहमा कक्षा १ देखि ८ सम्म खुद भर्नादर ९४.४ प्रतिशत र माध्यमिक तहमा कक्षा ९ देखि १२ सम्म ५५ प्रतिशत पुगेको उल्लेख छ  ।