जनार्जन खत्री
सर्लाही, जेठ ३१ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा छतिवनको रुखबाट पानी निस्किएर ‘देवता’ उत्पन्न भएको भन्दै स्थानीयले पूजाअर्चना गर्न थालेका छन् ।
दुई साता अघिदेखि छतिवनको रुख र त्यसको हाँगाबाट सिमसिम पानी झरेर ओसिलो हुन थालेपछि हेर्नेको भिड लागेको हो । बस्ती नजिकैको बगैँचामा रहेको उक्त छतिवनको रुख हेर्न टाढाटाढाका मानिस आइरहेका स्थानीयले बताएका छन् ।
स्थानीय शीला यादवले छतिवनको यो रुखबाट पहिलो पटक यसरी २४ सैँ घण्टा सिमसिम पानी परेको जस्तै देखिएको बताउनुभयो । कतिपय सर्वसाधारणले ‘देवता’ उत्पन्न भएको भन्दै लड्डु, फूल र अगरबत्ती चढाएर रुखको फेदमा पूजा गर्ने गरेका छन् ।
बबरगन्जकै स्थानीय वासिन्दा तथा चन्द्रनगर स्वास्थ्य चौकीका सिनियर अहेब शिवशङ्कर महतोले रुख र रुखको फेदमा पानी परेको जस्तै गरी ओसिलो बनेपछि आश्चर्य मानेर हेर्ने मानिसको भिड लागेको जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमा भाइरल भएपछि सदरमुकाम मलङ्गवासहित टाढाटाढाका मानिस रुख हेर्न आएका जानकारी दिनुभयो ।
उहाँले रुखबाटै पानी निस्किएको जस्तो देखिएपछि एउटा हाँगा काटेर हेर्दा पानी नआएको बताउनुभयो । महतोका अनुसार केही दिनदेखि रुखका हाँगामा मौरी जस्तै किरा देखिएका छन् ।
सोही किराले पानी फालेको हुन सक्ने स्थानीयको आशङ्का रहेको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले रुखमाथि किरा आएर बसेकाले ति किराले नै पानी फालेको हुनसक्ने भएकाले यसलाई सामान्य ढङ्गले नै लिइएको बताउनुभयो ।