काठमाडौँ, जेठ ३१ गते । टिबी शाह स्मृति यु-१६ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।
वीरेन्द्रनगरको कालिञ्चोक क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा मधेशले बागमती प्रदेशलाई सात विकेटले हरायो ।
जितका लागि बागमतीले दिएको एक सय १३ रनको लक्ष्य मधेशले १३.४ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । मधेशका लागि सान्तु मण्डलले अविजित ४३ रन बनाउनुभयो । आयन मुखियाले अविजित २९ र सुशान्त सिंहले १२ रन जोड्नुभयो ।
बलिङमा बागमतीका कप्तान प्रसिद्ध जेसीले दुई तथा कमल साहीले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ३३ ओभरमा सबै विकेटको क्षतिमा एक सय १२ रन बनाएको थियो ।
बागमतीका लागि प्रसिद्ध जेसीले सर्वाधिक २५ रन बनाउनुभयो । यस्तै रोहित ठाकुरले २२, आशिष गुप्ताले १७ र सूर्यान्शु कोइरालाले १० रन जोड्नुभयो ।
बलिङमा मधेशका रोहन यादवले तीन विकेट लिनुभयो । यस्तै राजीवकुमार सदा र सलमान अली मन्सुरीले दुई दुई विकेट लिनुभयो ।