कुनै ठुलै सामान खसे जस्तो आवाज एकाएक सुनियो । घरनजिकै रुखबाट सुमन खसेका रहेछन् । उनले ठुलो आवाजमा ‘ऐय्या...’ भनेर कराएपछि भित्र कसौडीमा भात छट्काउँदै गर्नुभएका गोपी हतासिँदै बाहिर निस्किनुभयो । सुमन ठुलै चोट लागेको जसरी रुँदै र कराउँदै थिए । गोपीले छिमेकीसँग गुहार माग्नुभयो । क्षणभरमै आँगनभरि गाउँले जम्मा भए । गाउँलेले एम्बुलेन्स बोलाइदिए । सुमन र गोपीलाई राखेर एम्बुलेन्स अस्पतालतर्फ हुइँकियो ।
सुमन चार वर्षको हुँदा घाँस काट्न जङ्गल गएका बेलामा उनकी आमालाई बाघले आक्रमण गरेर मारिदिएको थियो । सुमन गोपीको एक्ला सन्तान हुन् । “बुढेसकालमा टेक्ने लट्ठी हो नि हाम्रो छोरा” श्रीमतीसँग गोपीले भनिरहनुहुन्थ्यो ।
पत्नीको मृत्युपछि गोपीले दोस्रो विवाह गर्न चाहनुभएन । सुमनप्रति सौतेनी आमाको व्यवहार नराम्रो हुन सक्ने अनुमानले गोपीले दोस्रो विवाह नगर्नुभएको हो । कहिलेकाहीँ सुमन रुँदा गोपीको मन चसक्क हुन्थ्यो । आँखा रसाउँथे । उहाँलाई मनमनै कतै आमाको जस्तो माया दिन सकिन कि भन्ने लागिरहन्थ्यो ।
जति गल्ती गर्दा पनि बाबुले केही नभन्ने भएकाले सुमनमा उपद्रो गरिरहने बानी बसेको थियो । छोरा बिग्रँदै गएका बारेमा गोपीलाई थाहा त थियो तर उहाँले केही पनि भन्ने आँट गर्न सक्नुभएको थिएन । गोपीको माया र सहानुभूतिले सुमन बिग्रँदै गएका थिए । आफूलाई बलियो छु भनेर देखाउन उनले जोखिमपूर्ण काम पनि गर्न थालेका थिए । गाउँलेले गोपीलाई छोरालाई सम्झाउनु प¥यो भनेर निकै सम्झाउँथे तर गोपीले ‘बच्चा हो, सिक्दै जालान्’ भनेर टारिदिन्थे ।
आजको दुर्घटनाले गोपीलाई गम्भीर बनायो । अस्पतालमा पुगेपछि डाक्टरले सुमनको घुँडाको एक्सरे गराउन लगाए । हड्डी भाँच्चिएको देखियो । “सुमनलाई केही दिन अस्पतालमै राख्नुपर्ने हुन्छ” डाक्टरले भन्नुभयो ।
गोपीलाई चिन्ता लाग्यो । ‘छोरालाई सधैँ पुलपुल्याउँदा बिग्रिएको त होइन ?’ भनेर गोपीलाई चिन्तित तुल्यायो । अस्पतालको शøयामा सुमन गोपीको हात समातेर रुन थाले । गोपीले पनि आँसु रोक्न सक्नुभएन । सुमनले बाबुको आँखामा आँसु देखेर पछुतो महसुस गर्न थाले । उनले मलिन अनुहार लगाउँदै भने, “बाबा, म अब राम्ररी हिँड्न सक्छु ? मैले तपाईंलाई सधैँ दुःख दिएको छु है ? तपाईंले भनेको मानेर रुखमा नचढेको भए यस्तो हुने नै थिएन । यो सबै तपाईंले भनेको कुरा नमान्दाको परिणाम हो ।”
गोपीले छोरालाई छिटै निको हुने भनेर ढाडस दिनुभयो । सुमनले आइन्दा चकचक नगर्ने, उपद्रो नगर्ने, आज्ञाकारी छोरा बन्ने प्रतिज्ञा गरे । सुमनका कुराले गोपी निकै खुसी हुनुभयो ।
घुँडाको घाउ विस्तारै पुरिन थाल्यो । प्लास्टर लगाएकाले बैशाखीको सहाराले सुमन विद्यालय जान थाले । बदमासी गर्ने समयलाई पढाइमा ध्यान दिन थालेपछि उनी कक्षामै अब्बल हुँदै गए । उनको बानीलाई लिएर अहिले गाउँभरि चर्चा छ । सबै अभिभावकले सुमन जस्तो असल बन्नु पर्छ भनेर आफ्ना छोराछोरीलाई भन्न थालेका छन् ।