• २७ जेठ २०८२, मङ्गलबार

संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिने बढी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ २७ गते । संस्थागतभन्दा व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागको हालै सार्वजनिक चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको प्रतिवेदन अनुसार यस अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकामध्ये व्यक्तिगत रूपमा तीन लाख नौ हजार १५५ जना छन् भने संस्थागत रूपमा दुई लाख ८२ हजार ५३६ जना रहेका छन् ।

नेपाली श्रम बजारमा वार्षिक आउने पाँच लाखभन्दा बढी श्रमयोग्य जनशक्तिमध्ये आधाभन्दा बढीलाई वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले रोजगारीमा सहजीकरण गर्दै आए पनि पछिल्लो वर्ष यो सङ्ख्या घट्न थालेको हो ।

त्यसो त गत आव २०८०/८१ देखि नै संस्थागत अर्थात् म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या घटेको थियो । व्यक्तिगत रूपमा दुई लाख ९१ हजार ५५५ युवा विदेश गएकोमा चालु आवको वैशाखसम्म सो सङ्ख्या बढेर तीन लाख नौ हजार १५५ पुगेको छ । 

यस्तै गत आवको वैशाखसम्म म्यानपावरमार्फत वैदेशिक रोजगारीमा गएका नेपालीको सङ्ख्या दुई लाख ९४ हजार ५७७ रहेकामा चालु आवमा सो अवधिसम्म यो सङ्ख्या दुई लाख ८२ हजार ५३६ मा सीमित भएको छ, जुन गत आवभन्दा १२ हजार १४ ले कमी हो । 

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाले विदेशी श्रमिक लिन कडाइ गर्नु, खाडी क्षेत्रमा युद्धको असर देखिएका कारण म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको बताउनुभयो । 

व्यवसायीका अनुसार त्यसमा पनि मलेसियाले जुनदेखि अनिश्चित समयका लागि विदेशी कामदार नलिने घोषणा गरेका कारण आगामी दिनमा संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अझ घट्ने सङ्केत देखिएको छ । नेपाली श्रम बजारमा वार्षिक पाँच लाखभन्दा बढी श्रमयोग्य जनशक्ति प्रवेश गर्दछ । यसरी प्रवेश गर्ने श्रमशक्तिलाई रोजगारी प्रदान गर्न नेपालको श्रम बजार सक्षम छैन । 

न्यून आर्थिक वृद्धि, भौगोलिक जटिलता, सीमित उब्जाउयोग्य भूमि, सिपविहीन जनशक्ति र कमजोर संरचनात्मक आर्थिक प्रणालीका कारण देशमा रोजगारी उपलब्ध हुन नसकेर वैदेशिक रोजगारीमा जानु युवाको बाध्यता बनेको छ । यसरी श्रम बजारमा आउने युवालाई स्वदेशको रोजगारीको विकल्पमा म्यानपावरले सहजीकरण गर्दै आएका छन् । 

वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा श्रमिक पठाउन पाउने देशको सङ्ख्या ११० पुगे पनि नयाँ विकल्पको खोजी गर्न नसक्दा वैदेशिक रोजगारी पनि न्यून आम्दानी हुने खाडी तथा मलेसियामा मात्र केन्द्रित हुन पुगेको छ । कतार, मलेसिया, साउदी अरब, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरियालगायतका देश नेपाली युवाका लागि प्रमुख श्रम गन्तव्य छन् । 

त्यसमध्ये कोरिया आम्दानीका हिसाबले राम्रो मानिन्छ । विगतमा कोभिडका कारण धेरै म्यानपावरले एक जना पनि श्रमिक विदेश पठाउन सकेका थिएन । अघिल्लो आवमा खाडी तथा मलेसियाको विकल्पमा नयाँ श्रम गन्तव्यको खोजी गर्न नसक्दा २५१ म्यानपावरको कारोबार नै शून्य भएको थियो । कोरोना सङ्क्रमणका कारण खुम्चिएको श्रम गन्तव्यको विस्तार गर्न नसक्दा विदेश जाने मात्र नभई म्यानपावरमा कार्यरत हजारौँ कर्मचारीसमेतले रोजगारी गुमाएका थिए ।