• ८ पुस २०८१, सोमबार

चोभार बन्दरगाहमा चौध ट्रक भित्रिए

blog

२०७८ चैत २२ गते चोभार सुक्खा बन्दरगाह उद्घाटनका क्रममा भित्रिएका ट्रक ।

काठमाडौं, जेठ ३१ गते ।काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राई पोर्ट)मा हालसम्म १४ वटा ट्रक भित्रिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत २२ गते चोभार सुक्खा बन्दरगाहको औपचारिक उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएयता दुई महिनाभन्दा बढीको अवधिमा भारतबाट वीरगञ्ज हुँदै सामान बोकेर आएका ती ट्रक सिधै चोभारमा आएका हुन् । 

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भर्खरै सञ्चालनमा आएको हुनाले धेरै ट्रक नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “एलसी खोलेर सामान आउन तीनदेखि चार महिना लाग्ने हुनाले चोभारमा सामान आउन कम भएको हो ।” वीरगञ्ज, विराटनगर वा अन्य क्षेत्रका लागि भनेर आयात प्रतीतपत्र (एलसी) खोलिने र सामान नजिकको भन्सार कार्यालयमा जाँचपास हुन्छन् । 

कार्यकारी निर्देशक गजुरेलले भन्नुभयो, “पृथ्वी राजमार्ग भएर कलङ्की, बल्खु, कीर्तिपुर हुँदै चोभार आउन अलिक झन्झट भयो ।” काठमाडौँ तराई द्रुतमार्ग निर्माण सम्पन्न भए तीनदेखि चार घण्टामा वीरगञ्जबाट काठमाडौँमा कन्टेनर आउन सक्ने र चोभार सुक्खा बन्दरगाहको प्रयोग बढ्ने उहाँले बताउनुभयो । 

भारत र भारत हुँदै तेस्रो मुलुकबाट आएका सामान वीरगञ्ज भन्सारमा चेकजाँच नभई सिधै चोभारमा आउन सक्ने भएकाले सामान ढुवानीमा लाग्ने समय र लागत बचत हुने गजुरेलको बताउनुभयो ।

वीरगञ्ज, विराटनगरतिर सधैँ कारोबार गर्ने व्यवसायीका लागि काठमाडौँमा नयाँ ठाउँ भएकाले पनि सुरुसुरुमा असजिलोजस्तो लागेको हुनसक्ने उहाँले बताउनुुभयो । उहाँका अनुसार चोभार सुक्खा बन्दरगाहबारे बिस्तारै सबैलाई जानकारी हुने भएकाले पनि सामान आउने क्रम बढ्दै जाने उहाँको अनुमान छ । 

बीमालगायतको समस्या

चोभार सुक्खा बन्दरगाहले आयात निर्यात व्यापारमा सहजीकरण गर्ने सम्भावना रहे पनि अझै केही समस्या रहेको निजी क्षेत्रले बताएका छन् । वीरगञ्जदेखि काठमाडौँ कन्टेनर ल्याउँदा बीच बाटोमा कन्टेनरमा समस्या भए बीमाको सुविधा नरहेको र कन्टेनर दुर्घटना भए कसले जिम्मा लिने भन्ने समस्या रहेको व्यवसायीको भनाइ छ ।

सञ्चालन मोडालिटी

सुक्खा बन्दरगाहको सञ्चालनको काम इन्टरमोडल यातायात विकास समितिले गरिरहेको छ । समितिले नियमन पनि गर्छ । व्यापारविज्ञ रविशङ्कर सैँजूले बन्दरगाह सञ्चालन गर्ने मोडालिटी नै ठीक नभएकाले प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउनुभयो । 

सैँजूले भन्नुभयो, “तत्काल निजी क्षेत्रलाई दिन नसक्ने भए सरकारी निकाय नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेडलाई दिँदा प्रभावकारी रूपमा सञ्चालन हुन सक्थ्यो ।” समितिका अनुसार बन्दरगाहमा पाँच सय कन्टेनर तथा पाँच सय ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्र, भन्सार, क्वारेन्टाइन, सुरक्षा र अपरेटर कम्पनीका कार्यालय छन् । 

बैङ्कलगायत अन्य संरचनाका लागि तीन भवन, तीन गोदाम, तीन एप्राइजल सेड, तीन धर्मकाँटा, विद्युतीय सबस्टेसन, बाउन्ड्री लाइटलगायत पूर्वाधार निर्माण गरिएको छ । यो बन्दरगाहभित्र भन्सार जाँचपास कार्यालय, क्वारेन्टाइन, प्रशासनिक भवन, कन्टेनर पार्किङ, गोदाम घर, चेकजाँच कक्ष सबै सुविधा एकै ठाउँमा रहेका छन् । 

विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा इन्टरमोडल यातायात विकास समितिले तीन वर्ष लगाएर बन्दरगाह निर्माण गरेको थियो । बन्दरगाहमा ३५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्रलगायतका सुविधा र कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली राखिएको छ । 

Author

लक्ष्मी सापकोटा