हरिप्रसाद कोइराला
उर्लाबारी, जेठ २४ गते । मोरङको लेटाङ–६ का ३५ वर्षीय विष्णु मगरलाई यतिबेला बाँसका सामग्री निर्माण (ह्यान्डीक्राफ्ट) बनाउन र तालिममा सहजीकरण गर्न भ्याइनभ्याइ छ ।
उहाँ शुक्रबार मात्र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको दुईमहिने बाँसका हस्तकला सामग्री बनाउने तालिममा सहजीकरण गरी घर फर्कनु भयो । नेपालमै पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन आयोजना गरेको नगरपालिकाले काठको विकल्प बाँस हुन सक्ने भन्दै दुई महिनासम्म बाँसबाट घर र हस्तकलाका सामग्री बनाउने तालिम आयोजना गरेको थियो ।
दुई सय रुपियाँमा किनेको एक घना बाँसमा सिप भरेपछि १५ हजार रुपियाँसम्ममा बिक्री गर्न सकिने सामग्री बन्ने विष्णु बताउनुहुन्छ । होचो कदका विष्णुले नेपाल होचापुड्का सङ्घबाट २०७४ सालमा बाँसका फर्निचर र सजावटका सामग्री बनाउने तालिम लिएपछि आफूले सिकेको सिपलाई अहिले व्यवसाय बनाउनुभयो । पछिल्लो समय तालिम सहजीकरण गर्न जिल्लाबाहिर पनि जानुपर्ने भएकाले माग अनुसारका ह्यान्डिक्राफ्ट सामग्री निर्माण गर्न विष्णुले भ्याउनुभएको छैन । साउनदेखि सुरु हुने विभिन्न सङ्घ संस्थाका साधारण सभा/सम्मेलनमा पाहुनालाई उपहारस्वरूप दिइने मायाको चिनोको माग धेरै छ । विष्णुले बाँसबाट कुर्सी, टेबुल मात्र होइन काइँयो, धरहरा, घर, पशुपतिनाथ मन्दिर, बिजुलीको बल्ब झुन्ड्याउने स्ट्यान्ड, पुस्तक ¥याकलगायत विभिन्न २५ प्रकारका ह्यान्डिक्राफ्टका सामग्री निर्माण गर्नुहुन्छ ।
विष्णु आफू पनि फरक क्षमताको हुनुहुन्छ, त्यसैले अपाङ्गता भएका व्यक्तिको संस्थालाई अलि बढी समय दिनुहुन्छ । हाल मासिक ४० हजारसम्म कमाइ गरिरहनुभएका विष्णले पूर्ण रूपमा घरमै बसेर काम गर्न पाए कमाइ दोब्बर हुने बताउनुभयो । विष्णुले हालसम्म २२ स्थानमा तालिमको सहजीकरण गरिसक्नुभएको छ । राम्रोसँग काम गर्ने हो भने बाँसका सामग्रीले प्लास्टिकलाई विस्थापित गर्न सक्ने उहाँको भनाइ छ ।