• १८ असार २०८१, मङ्गलबार

एसीसी महिला टी–२० क्रिकेट : नेपाली टोलीको घोषणा

blog

कीर्तिपुरमा अभ्यास गर्दै नेपाली महिला क्रिकेट टोली । तस्बिर : क्यान

काठमाडौं, जेठ ३० गते । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा यही जुन १७ देखि २५ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा लागि नेपाली महिला खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले सोमबार बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको हो । 

प्रशिक्षक जगत टमटाले प्रशिक्षणमा रहेका खेलाडीको प्रदर्शनका आधारमा रुविना क्षेत्रीको कप्तानीमा अन्तिम खेलाडीको नाम सार्वजनिक गरेको हो । मनिषा उपाध्याय पहिलो पटक राष्ट्रिय टोलीमा पर्नुभएको छ । राम्रो तयारी गरेको नेपाली टोलीले यसपटक उपाधि जित्ने लक्ष्य राखेको प्रशिक्षक टमटा र कप्तान दुवैले दावी गर्नुभएको छ । 

एसीसीले सार्वजनिक गरेको तालिका अनुसार समूह ‘बी’ मा रहेको नेपालले समूहको पहिलो खेल जुन १७ तारिख भुटान, दोस्रो खेल १८ तारिख कुवेत, तेस्रो खेल २० तारिख बहराइन, चौथो खेल २१ तारिख हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।  एसीसीले सहभागि १० टोलीलाई दुई समूहमा विभाजन गरेको हो ।

समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिंगापुर र संयुक्त अरव इमिरेट्स (यूएई) रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल जुन २४ र फाइनल खेल २५ तारिख हुनेछ । 

नेपाली महिला टोली 

रुविना क्षेत्री (कप्तान), इन्दु वर्मा, सिता रानामगर, ज्योती पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कबिता जोशी, डोली भट्ट, सवनम राई, संगिता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल र ममता चौधरी ।