• २३ जेठ २०८२, शुक्रबार

नयाँ वर्षमा नयाँ स्कुल

blog

विसं २०८१ निकै अर्थपूर्ण रह्यो । विशेष गरी परिवारले शिक्षाका लागि गरेको प्रयास र मेरो मेहनतका कारणले २०८१ वैशाखदेखि लामाचौर, पोखरामा रहेको प्रसिद्ध गण्डकी बोर्डिङ स्कुलमा छात्रवृत्तिमा पढ्ने अवसर पाएँ । यो अवसरका लागि मेरो पहिलेको विद्यालय र त्यहाँका शिक्षकहरूलाई धन्यवाद दिन चाहन्छु । 

२०२३ जेठ २९ मा नेपाल आदर्श विद्यालयका रूपमा स्थापित यो विद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रिय विद्यालयको मान्यता पाएको छ । यो एक वर्षमा यस विद्यालयमा मेरो अनुभव मिश्रित रहेको छ । मैले थुप्रै नौला अनि राम्रा अनुभव गर्न पाएको छु भने नयाँ ठाउँमा केही भिन्न महसुस पनि गरेको छु । छात्रवृत्तिमा छनोट हुन पाउँदा आफूलाई धेरै खुसी लाग्ने रहेछ । त्यसै गरी आर्थिक रूपमा आमाबुवालाई अलि सजिलो पनि हुने रहेछ ।      

नयाँ स्कुलमा पढाइलेखाइका तरिका पनि नयाँ लाग्यो । सबै साथीसँग खेलकुदमा रमाउन पाइने, नजान्नेलाई पनि राम्रोसँग सिकाउने शिक्षकहरूका कारणले मलाई विशेष गरी गणित, नेपाली, विज्ञान, कम्प्युटर, चित्रकला, शारीरिक शिक्षा र नृत्यमा रुचि बढ्न थालेको छ । हाम्रो कक्षालाई विशाल गुरुङ, विश्वराज पौडेल, चित्रबहादुर थापा, इन्द्र उपाध्याय, केशरराज पङ्गेनी, केशव लामिछाने, मानबहादुर थापा, नवराज अधिकारी, निसान थापा, सोमनाथ सुवेदी, स्थिरबाबु सुवेदी, सुजन थापामगर र सूर्य थापाले पढाउनुहुन्छ ।         

यस विद्यालयमा मैले पढाइलेखाइका साथै खेलकुद, नृत्य, चित्रकला, कम्प्युटर कक्षा आदिमा समेत सहभागी हुन पाएँ । यहाँ आएर मैले नेपालीमा निबन्ध र कविता लेख्न पनि सिक्दै छु । हामीहरूलाई सुरुको दिनमा शिक्षकशिक्षिकाले विद्यालयको विभिन्न विषयमा जानकारी गराउनुभयो । विभिन्न विभागको भ्रमण गराउनुभयो । साथीबिच एकआपसमा परिचय गराउनुभयो । मेरा धेरै नयाँ साथी पनि बनेका छन् । त्यसै गरी वर्षको बिचतिर कक्षागत वनभोज कार्यक्रममा त झन् एलेक्स, अनुपम, आयन्श, प्रिथक, साकार, डेनिसलगायतका साथीसँग एकदम रमाइलो भयो ।   

मलाई पोखराको बसाइ रमाइलो लागिरहेको छ । पोखरा गण्डकी प्रदेशको राजधानी र देशको पर्यटकीय राजधानी पनि हो । यहाँ विभिन्न मनोरम पर्यटकीय स्थल छन् । म पनि कहिलेकाहीँ स्कुल छुट्टीको दिन वरिपरिको विभिन्न स्थान घुम्न गएको छु । आकाश खुलेको दिन यहाँबाट माछापुच्छे« हिमाल नजिकै देखिन्छ । यो सहर काठमाडौँ र चितवन जस्तो भिडभाड त छैन तर स्कुल जाने समयमा पुराना गाडीबाट आउने धुवाँ भने आँखा पोल्ने खालको हुन्छ । यहाँ आकाशबाट पानी पर्न थालेपछि एकोहोरो आइ रहने गर्छ । गत वर्ष वैशाख महिनामा धेरै दिनसम्म पानी परेको थिएन । वरिपरिका डाँडामा डढेलो लागेको थियो । त्योबेला आकाश धेरै दिनसम्म धुम्म परेको थियो । 

अरू कुरामा भने गत वर्ष पहिले पहिलेका वर्ष जस्तै रह्यो । मलाई विभिन्न ठाउँका बारेमा वर्णन गरेको किताब पढ्न मन लाग्छ । अनि आफू घुमेको ठाउँका बारेमा लेख्न पनि मन लाग्छ । म २०८२ सालमा पढाइ, खेलकुद, नृत्य र चित्रकलामा अझ राम्रो गर्न चाहन्छु । फुर्सदमा पोखरा वरिपरिका ठाउँ घुम्न पनि चाहन्छु । २०८२ सालमा म स्कुल बिदाको बेलामा घर, मामाघर जान, रमाइला किताबहरू पढ्न र नयाँ ठाउँहरू घुम्न चाहन्छु । 

  मुना