• २३ जेठ २०८२, शुक्रबार

दुःखले भरिएको वर्ष

blog

कुनै पनि मानिसको जीवनशैली सधैँ एकै प्रकारको रहँदैन । मानिसको जीवनमा उतारचढाव आइरहन्छ । सबै मानिसले आफ्नो जीवनशैली अनुसार आफ्नो जीवनयापन गर्नैपर्ने हुन्छ । हरेक समय मानिसको जीवनमा खुसी वा दुःखीको पल आइरहन्छ । खुसी र दुःखीको सामना समान रूपले गर्नु पर्छ । आकस्मिक रूपमा ठुलो समस्या पर्न सक्छ । जस्तो सुकै समस्याको सहज समाधान खोज्नु पर्छ र पराजय स्वीकार गर्नु हुँदैन । हाम्रो जीवनमा आएका हरेक समस्या, हरेक दुःख, हरेक कष्टको डटेर सामना गर्नु पर्छ । गत वर्ष नयाँ सालको सुरुवातसँगै मेरो दिनको सुरुवात पनि राम्रो भएको थियो । पहिलो दिन राम्रो भए भने पूरै वर्ष राम्रो हुने छ भन्ने सोचका साथ खुसी भएर ओठमा मुस्कान छर्दै ठुलाका आशीर्वाद लिएँ । हरेक वर्ष झैँ गत वर्ष पनि राम्रो हुने छ भन्ने सोचेको थिएँ तर मानिसले सोचे झैँ सधैँ कहाँ हुन्छ र ? मेरो जीवनमा पनि गत वर्ष सोचेको जस्तो सम्पन्न भएन । सबै कुरा मैले सोचेको विपरीत भयो । 

गत वर्ष मेरो विद्यार्थी जीवनमा समस्याले भरियो । सँगसँगै मेरो परिवारको आर्थिक, शारीरिकलगायत समस्या नै समस्याले भरिपूर्ण रह्यो । भन्छन् नि समस्या आएपछि चारैतर्फबाट आउँछ । त्यस्तै मेरो जीवनमा पनि गत वर्ष अनेकौँ चुनौती र समस्या आएका थिए । दुई वर्षअघि बुवा मोटरसाइकलबाट लडेर घाइते हुनुभएको थियो र त्यो दुर्घटनामा उहाँको गोडामा समस्या देखापरेको थियो । चिकित्सकको भनाइ अनुसार औषधीले निको हुन्छ भन्ने थियो । समय जति बित्दै गयो उहाँको गोडा झन् झन् दुख्न थाल्यो । त्यसैले उहाँले गत वर्ष राम्रो अस्पतालमा जाँच गराएर डाक्टरको सुझाव अनुसार गोडाको शल्यक्रिया गराउनु परेको थियो जसका कारण मेरो जीवनमा कठिनाइ आइपर्‍यो । मैले केही हप्तासम्म विद्यालय नगएर पसल चलाउनु परेको थियो । विद्यालयमा नियमित हाजिर हुन नसक्दा पहिलो त्रैमासिक परीक्षामा पुनः परीक्षा दिएको थिएँ । त्यसमा नराम्रो परिणाम आएको थियो । 

त्योबेला म अत्यन्तै दुःखी भएँ । मनमनै सोचिरहन्थे कि यसरी पढेर हुँदैन अझै धेरै मन लगाएर पढाइमा ध्यान दिनु पर्छ । दोस्रो त्रैमासिक परीक्षा आउन लागेको थियो तर गाउँको समस्याले बुवा गाउँ जानुभयो र फेरि मैले पसल चलाउनु परेको थियो । जसले गर्दा फेरि मेरो पढाइमा असर पर्‍यो । यस पटक भने पहिलेको तुलनामा राम्रै परिणाम आएको थियो ।

गत वर्ष मेरो योजना अनुसार केही पनि पूरा भएन । पारिवारिक समस्याले मेरा योजना पूरा हुन पाएनन् । योजना पूरा गर्नभन्दा परिवारको समस्यातर्फ ध्यान बढी गयो । २०८२ साल पक्कै त्यस्तो हुने छैन । समस्या नआउलान् भनेर विश्वास गरेको छु । पढाइप्रति निकै ध्यान दिने छु । लगनशील हुने छु । 

  मुना