आर्जु सिंह
कक्षाः ८, युनाइटेड स्कोलर्स एकेडेमी
तारकेश्वर, काठमाडौँ
नयाँ उत्साहका साथ हामी नयाँ वर्षमा प्रवेश गरेका छौँ । २०८१ साल हामीबाट बिदा भएको छ । २०८२ साललाई हृदयदेखि स्वागत गर्छौं । हामी विद्यार्थीका लागि २०८१ साल त्यति नराम्रो भएन । सहज रूपमा बित्यो । पढाइमा लगनशील हुने र मेहनत गर्ने, नयाँ कुरा सिक्ने, परीक्षामा सफलता प्राप्त गर्ने, अनुशासित हुने आदि नै हुन् विद्यार्थीका कर्म । शारीरिक, मानसिक र बौद्धिक विकासका लागि २०८१ साल सफल भएको ठान्दछु ।
२०८१ सालको योजना के हुने छ भन्ने कुरो मैले गत २०८० सालको अन्तिमतिर सोचिसकेकी थिएँ । विद्यार्थी प्रायःले भविष्यमा के गर्ने, कसरी गर्ने, कहिले गर्ने र किन गर्ने भन्ने कुराको एउटा खाका तयार गरिसक्छन् । “तिमीले आफ्नो लक्ष्य पहिले तोकेको छैनौ भने तिमी कुनै पनि दिशामा हिँड्न सक्छौ तर गन्तव्यसम्म कहिल्यै पुग्न सक्दैनौ” भन्ने लेविस क्यारोलको भनाइ जस्तै जीवनमा सफल हुन र गरेका काम सफल बनाउन हामीले आफ्ना योजना बनाउनु पर्छ । मैले पनि २०८१ सालमा केही योजना बनाएकी थिएँ, जसमध्ये केही पूरा भए र केही पूरा गर्न बाँकी रहे । मलाई थाहा छ कि उचाइमा पुग्न आफ्नो योजनालाई ठुलो र प्रेरणादायक बनाउनु पर्छ । डाक्टर, इन्जिनियर वा वैज्ञानिक बन्नका लागि कडा मेहनत र परिश्रम गर्नु आवश्यक छ । मेरो पनि भविष्यमा डाक्टर बन्ने लक्ष्य रहेको छ । अतः मैले प्रत्येक वर्ष योजना बनाएर अघि बढ्ने गरेकी छु । नयाँ वर्ष २०८२ सालमा मेरा योजनाका फेहरिस्त साथीहरूलाई भन्छु । ध्यानपूर्वक पढिदिनुहोस्, ल ?
१. समयतालिका अनुसार पढाइ
सबैभन्दा पहिलो कुरो पढाइमा ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ । कठिन लाग्ने विषय गणित, अङ्ग्रेजी र विज्ञानमा बढी ध्यान दिने योजना बनाएकी छु । जस अनुसार मैले समयतालिका बनाएकी छु । हरेक विद्यार्थीले समयतालिका तयार गरी पढ्नु पर्छ । मैले समयतालिका हरेक वर्ष बनाउँदै आएकी छु । योजनाबद्ध ढङ्गले पढ्नका लागि तालिका अनिवार्य हुन्छ । अन्यथा कुन विषय कुन बेला पढ्ने भन्ने अलमल हुन सक्छ । विद्यालयमा पनि त समयतालिका अनुसार नै शिक्षकले हामीलाई पढाउने गर्नुहुन्छ ।
२. शारीरिक विकासको योजना
शारीरिक स्वास्थ्यले हाम्रो समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । नियमित रूपमा खेलकुदमा सहभागी हुनु पर्छ । गत वर्ष पनि प्रत्येक दिन कम्तीमा आधा घण्टा व्यायाम गर्थें । हप्तामा तीन पटक खेलकुदमा सहभागी हुन्थेँ । यसले मेरो शारीरिक स्वास्थ्यलाई मजबुत बनाएको छ, जसले पढाइमा ध्यान जाने र बौद्धिक विकास पनि भएको छ । २०८२ सालमा पनि यस कार्यलाई निरन्तरता दिने योजना बनाएकी छु ।
३. पोषिलो आहारमा ध्यान दिने
हामीलाई थाहा छ स्वास्थ्य नै धन हो । त्यसैले प्रोटिन र कार्बोहाइड्रेटयुक्त खाना सेवन गर्नु पर्छ । यसले हाम्रो शरीरलाई आवश्यक पोषण प्राप्त हुन सक्छ । रोग लाग्नबाट समेत बचाउँछ । गत वर्ष पोषिलो खाना खाने योजना बनाए जस्तै यस वर्ष पनि यो योजनालाई निरन्तरता दिने छु । बजारमा पाइने तयारी खानेकुरा (जङ्क फुड), बाटो किनारामा ठेलामा राखेर बेचिने पानीपुरी, चाट जस्ता खानेकुरा खाने छैन ।
४. समयमै निद्रा
प्रत्येक रात सातदेखि आठ घण्टा निदाउने गरेकी छु । जसले मेरो शरीरलाई विश्राम र पुनः ऊर्जा प्राप्त गर्न मद्दत गरेको छ । शारीरिक र मानसिक रूपमा तन्दुरुस्त हुन शरीरलाई समयमै विश्रामको आवश्यक पर्छ । धेरै ढिलासम्म उठ्ने वा सुत्ने गर्नु हुँदैन । विद्यार्थीको निद्रा कुकुरको जस्तो हुनु पर्छ भनिन्छ । यो वर्ष पनि म राति ढिलोमा १० बजेतिर सुत्ने र बिहान करिब ५/६ बजे उठ्ने छु ।
५. मानसिक विकाससम्बन्धी योजना
मानसिक स्वास्थ्यले हाम्रो सोच र निर्णय क्षमतालाई प्रभावित पार्दछ । कुनै पनि कार्य सफल बनाउन सकारात्मक सोच र ध्यान आवश्यक हुन्छ । त्यसैले मेरो मानसिक विकासका लागि सकारात्मक सोच र ध्यानकेन्द्रित गर्ने अभ्यास गर्दै आएकी छु । ध्यान र योग जस्ता क्रियाकलापमा सहभागी भएको थिएँ । जसले मानसिक शान्ति र एकाग्रता बढाएको थियो ।