• ४ साउन २०८२, आइतबार

पाडी बाच्छी हुर्काउने किसानलाई १० हजार पुरस्कार

blog

सुन्दरबाजरको जगतमाया पशु फर्ममा रहेको सुत्केरी गाई। तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, जेठ २० गते। लमजुङमा कृतिम गर्भाधानबाट जन्मिएका पाडी बाच्छी हुर्काउने किसानले नगद १० हजार पुरस्कार पाउनुभएको छ। 

जिल्लाका ३७ जना किसानले पाडी बाच्छी हुर्काए बापत प्रोत्साहन स्वरुप नगद दस हजार रुपियाँ पुरस्कार पाउनुभएको हो। पशु नस्ल सुधार कार्यक्रम अन्र्तगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले ४९ वटा पाडी बाच्छी हुर्काए बापत जिल्लाका ३७ जना किसानलाई प्रोत्साहन रकम प्रदान गरेको हो। प्रोत्साहन रकम पाएपछि किसान खुसी भएका छन्। 

विज्ञ केन्द्रले कृतिम गर्भधानबाट जन्मिएका प्रति पाडी बाच्छी हुर्काएवापत किसानलाई १० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराउदै आएको छ।  उक्त कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्ष २०८१÷०८२ को चैत मसान्तसम्म ३७ जना किसानलाई चार लाख ९० हजार रुपियाँ प्रोत्साहन रकम वितरण गरेको केन्द्रका प्रमुख पशु चिकित्सक डा. सुनिल न्यौपानेले जानकारी दिनुभयो।

प्रोत्साहन कार्यक्रमले पशुमा कृतिम गर्भधानतर्फ किसानको आकर्षण बढ्दै गएको छ। चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म दुई हजार छ सय वटा पशुमा कृतिम गर्भाधान भएको पशु सेवा विज्ञ केन्द्रको तथ्यांक छ।

केन्द्रका अुनसार भेटेरीनरी अस्पतालबाट एक सय ५६ वटा पशुको कृतिम गर्भाधान भएको छ। स्थानीय तह एवं निजी पशु चिकित्सकमार्फत दुई हजार ६२० पशुको कृतिम गर्भाधान भएको छ। जिल्लामा बढी मात्रामा गाईमा कृतिम गर्भधान हुने गरेको छ। जिल्लामा सातवटा पशु कृतिम गर्भाधान केन्द्र रहेका छन्।

पशुमा गरिने कृत्रिम गर्भाधान सेवाले उन्नत जातको पशुको उत्पादन हुने, छिटो, सजिलो र दूधको उत्पादनमा वृद्धि हुने हुँदा किसान पशुको कृत्रिम गर्भाधान प्रक्रियामा आर्कषित भएको पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ।