• २० जेठ २०८२, मङ्गलबार

स्वास्थ्य एकाइ पाँच महिनादेखि स्वास्थ्यकर्मीविहीन : सेवाग्राही उपचारबाट वञ्चित

blog

खार्पुनाथ गाउँपालिका–५ ताक्ला गाउँमा पाँच महिनादेखि बन्द रहेको ताक्ला सामुदायिक स्वास्थ्य एकाइको भवन । तस्बिर : नन्द सिंह

नन्द सिंह

रलिङ (हुम्ला), जेठ १८ गते । खार्पुनाथ गाउँपालिका–५ स्थित ताक्लामा रहेको ताक्ला सामुदायिक स्वास्थ्य एकाइ पाँच महिनादेखि भएको छ । गत माघ महिनादेखि स्वास्थ्यकर्मी नै स्वास्थ्य चौकीमा उपस्थिती नभएपछि स्वास्थ्य संस्था बन्द हुनुका साथै सेवाग्राहीले समेत सास्ती खेप्नु परेको छ ।

एक जना अहेव कार्यरत रहेको एकाइमा स्वास्थ्यकर्मी नै विहिन बनेपछि ताक्ला गाउँका स्थानीय नागरिक औषधी तथा उपचारबाट वञ्चित हुनु परेको हो । खार्पुनाथ गाउँपालिकाबाट सेवा सुविधा लिइरहेका अहेव जयन्द्र शाही स्वास्थ्य एकाइमा उपस्थित नहुँदा स्थानीयलाई उपचारमा समस्या भएको स्थानीय कालीबहादुर बोहराले गुनासो गर्नुभयो ।

ताक्ला, बाम्टा र चौड गरी ७४ घरधुरीका लागि स्थापित स्वास्थ एकाइमा कर्मचारी अनुपस्थित हुँदा स्वास्थ्य उपचारबाट वञ्चित हुनु परेको बोहराको भनाइ छ ।

स्थानीय बोहराका अनुसार गाउँका सेवाग्राहीहरू सामान्य बिरामी हुँदा औषधी उपाचारका लागि सिमकोट गाउँपालिका–१ को कुम्लिक स्वास्थ्य एकाइमा ४५ मिनेट र वडा नम्बर २ को ठेहे स्वास्थ्य चौकी ठेहेमा ३ घन्टा पैदल मार्ग हुँदै सेवा लिनुपर्ने बाध्यता छ ।

यसको जानकारी गाउँपालिकालाई बेलाबेला गराउँदा पनि अहिलेसम्म समस्या समाधान नभएको स्थानीयले गुनासो गरेका छन् । सामान्य रुघाखोकी, ज्वरो, टाउको दुखेको बेला सिटामोल पाउनका लागि ३ घण्टा पैदल लगाउन बाध्य भएका छन् । 

५ महिनादेखि कर्मचारी स्वास्थ्य चौकीमा उपस्थित नहुँदा टाउको दुखेमा स्थानीयले छटपटाएर बस्नु पर्ने बाध्यता छ । भने ठुलो बिरामी हुँदा ५ घण्टा पैदलमा जानुपर्ने बाध्यता स्थानीयको गुनासो छ । गाउँपालिकाले मासिक तलब २८ हजार रुपियाँ दिने भनेको भए पनि अन्त्यमा १३ हजार रुपियाँ दिएपछि आफूलाई काम गर्ने जाँगर नभएको स्वास्थ्यकर्मी जयन्द्र शाहीको भनाइ छ । 

स्थानीयले हालसम्म स्वास्थ्य संस्था बन्द रहेको भन्ने जानकारी नगराएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रोववले बताउनुभयो । उहाँले त्यसरी स्वास्थ्य संस्था बन्द गर्न नहुने र गरेको खण्डमा गाउँपालिका स्वास्थ्य शाखालाई जानकारी गराएको भए गाउँपालिकाले अर्को व्यवस्था गर्न सक्ने बताउनुभयो।