• १९ जेठ २०८२, सोमबार

‘गणतन्त्रमाथि चुनौती दिने प्रयत्न भइरहेको छ’

blog

पत्रकार सम्मेलनमा आफ्नो भनाइ राख्नुहुँदै एमाले नेता शेरधन राई । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ १८ गते ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती दिने प्रयत्न भइरहेको बताउनुभएको छ । पछिल्लो समय राजावादीका नाममा गणतन्त्रमाथि चुनौती दिने काम भइरहेको राईले बताउनुभयो ।

प्रेस चौतारी नेपाल ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले राजावादीले गणतन्त्रमाथि चुनौती दिने असफल प्रयास गरिरहेका बताउनुभयो । राजावादीका नाममा उक्त हर्कतहरु भइरहँदा सबै राजनीतिक दल चुप लागेर बसेको, तर एमाले भने अन्य दलजस्तो नबसेको उहाँले बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित परिवर्तनको उपलब्धीलाई संस्थागत साथै रक्षा गर्न एमाले लागिपरेको र राजवादी हर्कतविरुद्ध एमाले सडकमै उत्रेको उहाँको भनाइ छ । नेपाल पछाडि फर्केको हालसम्मको इतिहास नभएको बताउनुहुँदै उहाँले मसानघाटमा पुगिसकेको, खरानी भइसकेको राजतन्त्र फर्कन्छ भन्ने कल्पना पनि गर्न नसकिने बताउनुभयो । नेपाली जनता अग्रगामी बाटोमा हिँडिरहने र जनताको सोही सोच र भावनाअनुसार एमालेले राजनीतिक रुपमा नेतृत्व प्रदान गरिरहेको उहाँले दाबी गर्नुभयो ।

अर्को प्रसंगमा नेता राईले देश र जनताको आवश्यकताअनुसार दुई ठुला दल मिलेर सत्ता सञ्चालन गरिहेको बताउनुभयो । एमाले नेतृत्वमा रहेको वर्तमान सरकार देशमा स्थायित्व प्रदान गर्न, विकास र समृद्धिमा योजनालाई अगाडि बढाउन लागिपरेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार देशको विकास र समृद्धिलाई नै केन्द्रमा राखेर सङ्घीय सरकारले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरिसकेको छ । यता कोशी प्रदेश सरकारले पनि नयाँ र समृद्ध प्रदेश बनाउनेगरी बजेट तथा नीति कार्यक्रम ल्याउने तयारी गरी रहेको उहाँले बताउनुभयो ।