भोजपुर, जेठ १८ गते । वैदेशिक रोजगारलाई सुरक्षित र प्रभावकारी बनाउने विषयमा सचेतना जगाउन यहाँ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । कार्यक्रम संयोजक कर्ण पुलामी मगरले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जनस्तरसम्म सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । विगतमा यहाँका चारवटा स्थानीय तहमा मात्र सञ्चालन भइरहेको कार्यक्रमलाई अब नौवटै स्थानीय तहमा विस्तार गरिएको छ ।
यहाँका आप्रवासी स्रोत केन्द्रबाट वैदेशिक रोजगारीसम्बन्धी परामर्श, वैदेशिक रोजगारीका सिलसिलामा ठगिएकालाई निःशुल्क कानुनी सेवाका लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका तथा मृत्यु भएकाहरूलाई क्षतिपूर्तिका लागि पहल गरिदिनेलगायतका काम भइरहेको छ । त्यस्तै विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतका काम भइरहेको जनाइएको छ ।
सरकारको ७० प्रतिशत र स्वीस सरकारको ३० प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको हो ।
वैदेशिक रोजगारलाई सुरक्षित बनाएर आयआर्जनमा वृद्धि गर्दै भविष्यमा सहज जीविकोपार्जनका लागि कार्यक्रमले टेवा पुर्याएको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताउनुभयो । वैदेशिक रोजगार रहर नभएर बाध्यता भएकाले यसलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
जिल्लामा रहेको आप्रवासी स्रोत केन्द्रबाट ६७ प्रतिशत पुरुष र ३३ प्रतिशत महिलालाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गरिएको जनाइएको छ । जिल्लाबाट गत आर्थिक वर्षमा सात हजार २४२ जना वैदेशिक रोजगारमा गएको तथ्याङ्क छ । रासस