• १९ जेठ २०८२, सोमबार

अब देशभर विपत् सूचक र उद्धारक

blog

फाइल तस्बिर ।

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ १८ गते । मनसुनी वर्षासँगै बाढी, पहिरो, डुबान तथा दुर्घटना जस्ता प्राकृतिक प्रकोपका घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सबै जिल्लामा विपत् सूचक तयार गरिने भएको छ । सम्भावित विपत्को पूर्वतयारीका लागि प्रभावकारी सूचना प्रणाली विकास गरी जनधनको क्षति कम गर्न सरकारले ७७ वटै जिल्लामा विशेष सतर्कतासहित एक लाख ७० हजार विपत् सूचक तयार गर्न लागेको हो । यस क्रममा सशस्त्र प्रहरीले पहिलो चरणमा तीन हजार छ सय जनाभन्दा बढीलाई विपत् स्वयंसेवक तालिमसमेत प्रदान गरिसकेको छ । 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले सम्भावित विपत्को जोखिमलाई कम गर्न स्थानीय समुदायको सहभागितामा विपत् सूचकको व्यवस्था गर्न लागिएको हो । थापाका अनुसार समुदायस्तरमा विपत्सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक रूपमा कार्य गर्ने उद्देश्यले विपत् सूचकको व्यवस्था गर्न लागिएको हो । 

यसका लागि सशस्त्रले आफ्ना सबै बाहिनी मुख्यालयमा यही जेठ मसान्तसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा पर्ने सबै स्थानीय तहका वडामा २५ जनाका दरले विपत् सूचक समूह निर्माण गर्ने छ । थापा भन्नुहुन्छ, “देशभरका छ हजार ७४५ वडामा २५ जनाका दरले एक लाख ६८ हजार ५७५ जना विपत् सूचकमार्फत सम्भावित प्राकृतिक तथा दैवी प्रकोपका घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न सहज हुने छ ।” उहाँले घटनाको समयमै सूचना प्राप्त गरी खोज, उद्धार र पुनस्र्थापनामा सहयोग पुग्ने उद्देश्यले विपत् सूचक तयार गर्न लागिएको पनि जानकारी दिनुभयो ।

विपत्सम्बन्धी तत्काल सूचना प्राप्त भएपछि सोही अनुसार आफ्ना सुरक्षाकर्मी परिचालन र उद्धारमा सहज हुने विश्वास लिएको सशस्त्र मुख्यालयले जनाएको छ । यसै गरी विपत् सूचक समूह तयार भएपछि उनीहरूलाई विपत् सचेतनामूलक प्रशिक्षण प्रदान गर्ने तथा विपत् ‘सिमुलेसन अभ्यास’ मा सहभागी गराउने तयारी रहेको पनि सशस्त्रले जनाएको छ ।

विपत्को जोखिम न्यूनीकरणका लागि सशस्त्रले समुदायस्तरमा विपत् उद्धारक तयार गर्न थालेको छ । जस अनुसार यसै वर्ष सात वटै प्रदेशमा करिब एक हजार समुदाय विपत् उद्धारक तयार गर्ने योजना छ । यसको तयारी स्वरूप सशस्त्रले मातहत कार्यालयमा विपत् उद्धारक स्वयंसेवक तालिमसमेत सुरु गरेको थापाले जानकारी दिनुभयो । समुदाय विपत् स्वयंसेवक उत्पादनका लागि सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालिम प्राप्त दक्ष सुरक्षाकर्मीले १८ दिनको तालिम प्रदान गर्ने छन् ।

सशस्त्र प्रहरी बलका प्रदेश मुख्यालय तथा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी तत्काल १८ वटा तालिम सञ्चालन सुरु गर्ने र बाँकी १४७ वटा तालिम आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

हाल सशस्त्रको २३ नम्बर मनकामना गण तनहुँबाट समुदाय विपत् स्वयंसेवक तालिम सुरु भई ५८ जना प्रशिक्षार्थी सहभागी रहेको पनि थापाले जानकारी दिनुभयो । स्थानीय निकाय र स्थानीय प्रशासनको समन्वयमा अतिरिक्त जनशक्ति तयार गर्ने र उनीहरूलाई आवश्यक विपत् उद्धारका सामग्री उपलब्ध गराउने तयारी छ ।