काठमाडौँ, जेठ १७ गते । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २४ गते ‘प्रज्ञा स्मृति प्रथम महिला तथा पुरूष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता’ हुने भएको छ ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा हुने सो प्रतियोगितामा पुरुषतर्फ पाँच वटा वजन समूहबिच र महिलातर्फ खुला प्रतिस्पर्धा हुने प्रतिष्ठानका निर्देशक गङ्गा दाहालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पुरूषतर्फ ६०, ६५, ७०, ७५ तथा ७५ केजी तौलभन्दा माथिका समूहबिच प्रतिस्पर्धा हुने छ । यसवर्ष प्रतिष्ठानले पहिलो संस्करणमा शारीरिक सुगठन खेलमा आबद्ध खेलाडी सबैलाई समेट्ने गरी राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता गरेको हो ।
प्रतिष्ठानले विभिन्न समयमा भरतपुरमा तेश्रो संस्करणसम्मको साइकलिङ प्रतियोगिता सम्पन्न गरिसकेको छ । प्रतियोगितामा सबै जिल्ला, प्रदेश तथा विभिन्न क्लबका महिला पुरूष गरी एक सय खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । पुरूषतर्फ प्रत्येक तौल समूहमा पहिलो, दोस्रो, तेस्रो, चौथो तथा पाँचौं स्थानसम्मका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।
महिलातर्फको खुला तौल समूहमा प्रथम हुने खेलाडीलाई एक लाख तथा पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितीय, तृतीय, चौथो र पाँचौँ हुने खेलाडीलाई क्रमशः ५० हजार र ३० हजार, २० हजार र १० हजार रुपियाँसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ ।
एक दिवसीय प्रतियोगितामा फाइनल खेलको प्रतिस्पर्धाबाट पुरुषतर्फ प्रत्येक तौदसमूहमा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपियाँ पुरस्कार पाउने छन् ।