• १९ जेठ २०८२, सोमबार

अग्रजसँग ‘उबेलाको पत्रकारिता’ संवाद

blog

‘उबेलाको पत्रकारिता’ संवादमा अनुभव सुनाउँदै अग्रज पत्रकारहरू । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, जेठ १७ गते । जिल्लामा पत्रपत्रिका थिएनन् । राजधानीबाट आउने पत्रपत्रिका पनि साता–दस दिनपछि मात्र आइपुग्थे । त्यतिबेला नागरिकमा सूचनाको पहुँच थिएन । जसका कारण नागरिकले पाउनै पर्ने सेवा पनि पाएका थिएनन् । 

२०४६ को प्रजातन्त्र प्राप्ती भन्दाअघि निजी क्षेत्रको समाचारपत्र थिएनन् । छिटफुट निस्कने साप्ताहिक पत्रिकाले पञ्चायत विरोधी मिसन पत्रकारिता गर्थे । सरकारी सञ्चार माध्यमले भने सरकारले गरेका कामको समाचार बढी लेख्नुपर्थ्याे । 

नेपाल प्रेस युनियनको स्थापना दिवशको अवसरमा बागलुङ शाखाले आयोजना गरेको ‘उबेलाको पत्रकारिता’ अग्रजसँग सम्बाद शृङ्खलामा बोल्दै अग्रज पत्रकार विश्वनाथ रेग्मीले सरकारले गरेका कामको मात्र समाचार लेख्ने दिनबाट अहिले स्वतन्त्र र निर्भिक भएर लेख्ने दिन आएको बताउनुभयो ।

उहाँले राज्यको ध्यानाकर्षण गर्नेगरी समाचार लेख्न आग्रह गर्नुभयो । साथै, यातायातको सहजताले समयमा सबै स्थानमा घुमेर समाचार लेख्न सकिने अवस्था बनेकोमा रेग्मीले खुसी व्यक्त गर्नुभयो । 

रेग्मी २०४० सालमा राससमा नियुक्ति हुनुभएको थियो । उहाँले अञ्चलाधीशले गरेका काम, सिडिओ र अन्य सरकारी कार्यालयको समाचार लेख्नुहुन्थ्यो । कतै पुल उद्घाटन भयो भने ‘हालै सम्पन्न भयो’ भन्ने उल्लेख गर्नुपर्थ्याे भन्नुहुन्छ रेग्मी । ‘‘समाचार लेखेर रजिष्ट्रर गरी पठाएपछि राससमा पुगेर छापिन साताबढी लाग्थ्यो । त्यसैले हालै भनेर नलेखे त्यो पुरानो समाचारजस्तो मानिन्थ्यो’’ रेग्मीले भन्नुभयो । 

२०४६ सालको परिवर्तनपछि पुरुषोत्तम दाहालले सञ्चालन गर्ने घटना र विचार कार्यक्रममा पनि रेग्मीले समाचार पठाउनुभयो । त्यतिबेला भने जनताको पक्षका विषय लेख्न सकिन्थ्यो । त्यसपछि मानवअधिकार हनन् भएको जिकिर गरेको, भिडन्त भएको घटना, घाइते भएको दाबी, प्रहरीले लाठीचार्ज गरेको आरोपजस्ता शीर्षकका समाचार आउन थालेको रेग्मीले विगतको पत्रकारिता स्मरण गर्नुभयो ।  

समाचार तथ्यमै आधारित भएपनि सरकारले गरेका काम बढी लेख्नुपर्ने र सोही अनुसार प्रकाशित हुने गरेको रेग्मीको भनाइ छ । ‘‘प्रशासनका मानिस अहिले पनि आफ्नो पक्षमा समाचार लेखिदेओस् भन्छन्’’ उहाँले भन्नुभयो, ‘‘सरकारी समाचार लेख्दा नागरिकको सूचनाको अधिकार पनि ख्याल गरौं ।’’ लोकतन्त्रले सबैको सूचना पाउने अधिकार रहेको भन्दै निश्पक्ष समाचार लेख्न रेग्मीको आग्रह छ ।

प्रेस युनियन बागलुङका संस्थापक जगन्नाथ आचार्यले नागरिकलाई सचेत बनाउने काममा पत्रकारिताको भूमिका महत्त्वपूर्ण भएको बताउनुभयो । ‘‘लोकतन्त्र र गणतन्त्रको विकल्प अरू व्यवस्था होइन, त्यो कुरा पत्रकारिताले मात्र जनतालाई सिकाउन सक्छ’’ उहाँले भन्नुभयो, ‘‘समाज विकासका लागि पनि पत्रकारिताले खबरदारी गर्नैपर्छ ।’’ राज्य जहिले पनि शोषक र निरंकुश बन्ने भएकोले जनताको पक्षका कुरा बाहिर ल्याउने काममा पत्रकार लाग्नुपर्ने बताउनुभयो । 

संवादमा अग्रज साहित्यकार तथा ‘धौलागिरिको ६ दशकीय पत्रकारिता’ विषयक पुस्तकका सङ्कलनकर्ता प्रेम छोटाले इतिहासको संरक्षण गर्न पनि पत्रकारिता लाग्नुपर्ने बताउनुभयो । ‘‘सत्य तथ्य समाचार लेखेर राखियो भने इतिहास समेत जोगाउन सकिन्छ’’ छोटाले भन्नुभयो, ‘मैले त केही समय हस्तलिखित पत्रिका निकाले पनि निरन्तर पत्रकारिता गरिन, बरु पत्रकारले गरेका कामलाई सङ्कलन गरेको हुँ ।’’ 

२००८ सालको ‘‘सहि बाटो’’ नामक हस्तलिखित पत्रिकादेखि अहिलेको आधुनिक पत्रकारितासम्मका विषय छोटाले पुस्तकका आधारमा प्रकाशित गरेका छन् ।