• १७ जेठ २०८२, शनिबार

सल्यानको फाँटभरि काँक्रो खेती

blog

काँक्राको बिउ निकाल्दै सल्यानका किसान । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ १६ गते ।
समथर मिलेको फाँट र फाँटभरिने गरी लगाइएको काँक्रो खेतीले गाउँ र फाँट सुन्दर देखिएको छ । अहिले किसानहरुलाई काँक्रोको बिउ निकाल्न भ्याइनभ्याई छ । फाँटका गराहरूमा लटरम्म काँक्रा फलेका छन् । काँक्रो पाक्न थालेपछि फाँट पहेँलपुर देखिन थालेको छ ।

बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ सल्यानका किसानहरूले सल्यानको फाँटमा विगत २७ वर्षदेखि व्यावसायिक रूपमा काँक्रो खेती गर्दै आएका छन् ।

भक्तपुर लोक्कल काँक्रोको बिउ उत्पादन गरी किसानले गाउँमा बर्सेनि दुई करोडदेखि चार करोड रुपियाँसम्म भित्र्याउने गर्दछन् । यो सिजनमा करिब पाँच सय रोपनी क्षेत्रफलमा बिउका लागि गरिएको काँक्रो खेती छ ।


गत वर्षभन्दा यसपाली काँक्रो खेती राम्रो भएकाले बिउ उत्पादनमा वृद्धि हुने किसानहरूको भनाइ छ । काँक्राका साथै यहाँका किसानले गोलभेडा, आलु, काउलीलगायतका ताजा तरकारी पनि उत्पादन गर्दै आएका छन् । यहाँ उत्पादन भएको तरकारी मुस्ताङ, बेनी, बागलुङ र पोखरासम्म पुग्ने गरेको छ ।

पछिल्ला केही वर्षयता काँक्रोको बीउ पोखरा, काठमाडौँ हुँदै विदेश समेत निर्यात हुन थालेको अगुवा कृषक एकनारायण पौडेलले बताउनुभयो । दुई–तीन वर्ष पहिला चार हजारदेखि पाँच हजारसम्म प्रतिकेजी बिक्री हुने गरेको काँक्रोको बिउ अघिल्लो वर्षदेखि मूल्य बढेर १० देखि १२ हजार रुपियाँसम्म पुगेपछि किसानहरू काँक्रो खेती तर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।

वि.स २०५४ सालमा सल्यान सिँचाइ आयोजना निर्माण भएर बाह्रै महिना सिँचाइ सुविधा भएपछि सल्यानका किसानहरू व्यवसायिक रूपमा तरकारी उत्पादन तर्फ लागेको जलजला गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताउनुभयो ।


सल्यान गाउँका करिब ८० देखि ९० घरपरिवारले व्यवसायिक तरकारी खेती गरेका छन् । तरकारी खेतीबाट आम्दानी हुनथालेपछि रोजगारीका लागि खाडीमुलुक जान छाडेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ताजा तरकारी र बिउ उत्पादनबाट राम्रो आम्दानी लिन थालेपछि पछिल्ला २० वर्षदेखि खाडी मुलुकमा जान बन्द नै भएको छ । तरकारी बिक्री गरेर कमाएको पैसाले अभिभावकले शिक्षामा लगानी गर्न थालेपछि पढाईमा आएको सुधारले पछिल्लो समय लोकसेवा पढेर सरकारी सेवामा प्रवेश गर्नेको सङ्ख्या पनि वृद्धि भएको छ ।’’

कृषि पेसा गरेका यहाँका किसानहरूको जीवनशैली नेपाल सरकारको खरिदार र सुब्बा भन्दा उच्च भएको उहाँले बताउनुभयो । कृषि पेशामा परिश्रम गर्न सके जीवनशैली बदल्न सकिन्छ भन्ने उदाहरण सल्यानका किसानहरूले दिएको वडाध्यक्ष आचार्यको भनाइ छ ।

विगत १० वर्षदेखि ताजा तरकारी उत्पादनमा लाग्नुभएका युवा किसान तिलक रिजालले परिश्रम गर्नसकेमा कृषि पेसाबाट राम्रो आम्दानी लिन सकिने बताउनुभयो । ‘‘मलाई पैसा कमाउन विदेश वा सरकारी जागिर खानुपर्ने अवस्था छैन । आफ्नै माटोमा परिश्रम गरेर राम्रो पैसा कमाएको छु,’’ रिजालले भन्नुभयो । गाउँका धेरै युवाहरु कृषि पेसामा सक्रिय रहेको उहाँले बताउनुभयो ।

सल्यानका किसानले जग्गा भाडामा लिएर समेत व्यवसायिक रूपमा काँक्रो खेती गरेका छन् । वार्षिक ५५ हजार रुपियाँमा पाँच रोपनी जग्गा भाडामा लिएर काँक्रा खेती गर्नुभएका मनबहादुर नेपालीले यसपाली करिब दस लाख रुपियाँभन्दा बढीको काँक्राको बिउ उत्पादन हुने बताउनुभयो ।


विगत २५ वर्षदेखि ताजा तरकारी र बिउ उत्पादन गर्दै आउनुभएका हरिप्रसाद आचार्यले पनि यसपाली करिब ७ रोपनी क्षेत्रफलमा काँक्रो खेती गर्नुभएको छ । गत वर्षदेखि काँक्राको बिउको मूल्य वृद्धि भएपछि किसानहरू उत्साहित भएर यसपाली धेरै जमिनमा काँक्रो खेती गरेको उहाँको भनाइ छ । 

अन्य बालीभन्दा काँक्रो खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सबै जमिनमा यसपाली काँक्रा खेती गरेको शिला पौडेलले बताउनुभयो । उहाँले करिब ७ रोपनी क्षेत्रफलमा यसपाली बिउ उत्पादनका लागि काँक्रा खेती गर्नुभएको छ । गत वर्षभन्दा यसपाली काँक्रा खेती राम्रो भएकाले उत्पादन वृद्धि हुने उहाँले बताउनुभयो । काँक्रो, गोलभेडाको बिउ र ताजा तरकारी लगायतका कृषिजन्य उत्पादनबाट सल्यान गाउँमा मात्र करिब सात  करोड रुपियाँ नगद भित्रिने वडाध्यक्ष आचार्यले बताउनुभयो ।