• १७ जेठ २०८२, शनिबार

रुरु कृषि परियोजना : कृषि र पशुपालनबाट आत्मनिर्भर बन्दै महिला

blog

रुरु क्षेत्र गाउँपालिका–१ मा रुरु कृषि परियोजना मार्फत महिलाहरूले लगाएका खुुर्सानी र मेवा खेती । तस्बिर : टोपलाल कअर्याल

टोपलाल अर्याल
रेसुङ्गा, जेठ १६ गते ।
घर भाडामा बसे पनि जाँगर भएपछि रुरुक्षेत्र गाउँपालिका–१ एक्लेपिपलकी सीता कुमालका घर वरिपरी काँक्रा, घिरौला, करेला, सिमी र करेला फलेर लटरम्म छन् । उहाँलाई तरकारी बेचेरै वर्षभरि खान पुगेको छ । केही समय नजिकैको पैँचो पसलमा काम गरेकी कुमाललाई रुरु कृषि परियोजनाले विस्तारै व्यावसायीक उर्जा मिल्यो । अहिले घरभरि तरकारी रोप्नु भएको छ ।

उत्पादन टिपेर नजिकैको रिडी बजारमा पुराए नबिक्ला भन्ने डर पनि छैन । रुरुक्षेत्र गाउँपालिकाले बिउ, सीप, प्रविधीमा सहजीकरण गरेपछि व्यावसायीक तरकारी खेतीतर्फ उर्जा पलाएको कुमालले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले चार, पाँच क्वीन्टल काँक्रा बेच्छु करेला र खुर्सानी हुँदै छ । बजारको समस्या छैन, तरकारी बेचेरै घरखर्च चलेको छ ।’’

व्यावसायीक कृषि कर्मका कारण कुमालसहितका समुहमा आवद्ध भएका दिदिबहिनीहरुलाई घर खर्चकै लागि श्रीमानको मुख ताकेर बस्नु पर्दैन । काठको काम गर्दै आउनु भएका श्रीमान् बुद्धि कुमाल परदेशको तयारीमा रहेको मिनाले बताउनुभयो ।

एक्लेपिपलकै शारदा खनालपनि रुरु शिवालयमहिला स्वावलम्बन समूहकाे सदस्य हुनुहुन्छ । उहाँले १४ सय खुर्सानी रोप्नु भएको छ भने सय बोट रेड लेडी जातको मेवा छन् ।

खुर्सानी फल्दै भए पनि करिब एक क्वीन्टल मेवा बिक्री गर्नुभएका खनालले सामूहिक तथा व्यक्तिगत रूपमा कृषि र पशुपालन व्यावसायबाट मनग्य आम्दानी गर्नुभएको छ । सोही गाउँकै देवि रेश्मी पनि व्यावसायीक तरकारीतर्फ आकर्षित हुनुहुन्छ । रेश्मीले भर्खरै ७० किलो काँक्रा बिक्री गर्नुभयो । घिरौला, लौका, बोडी र मेवालगायतका कृषि उपज बेचेर धेरै महिलाले आफ्नो खर्च धानेका छन् ।

रुरुक्षेत्र गाउँपालिकाले गत वर्षदेखि हेफर प्रोजेक्ट नेपालसँगको साझेदारीमा रुरु कृषि परियोजना सञ्चालन गरेको छ । परियोजना नवप्रभात युवा सङ्घमार्फत कार्यान्वयनमा रहेको छ । जसले महिलाहरूलाई एकीकृत बनाउँदै सामूहिक भावनाको विकाससँगै आर्थिक समृद्धिको बाटोे देखाउने काम गरिरहेको छ । परियोजनाका लागि रुरु क्षेत्र गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको गरेर कुल रकम तीन करोड ३३ लाख ३३ हजार ३३३ रुपियाँ बजेट विनियोजन भएको छ । परियोजनामा २१ सय घरधुरीका महिला तथा युवा र ३३ वटा स्वावलम्बी समूहमार्फत कार्यक्रम परिचालन गरिएको नवप्रभात युवा सङ्घका कार्यकारी निर्देशक धातानन्द भुसालले जानकारी दिनुभयो ।

रुरु क्षेत्र गाउँपालिका माछा, तरकारी र बोकाको मासुमा आत्मनिर्भर हुने चरणमा रहेको छ । महिलाहरूको आर्थिक, सामाजिक सशक्तिकरणमार्फत कृषि तथा पशुपालनबाट हुने आम्दानीलाई दोब्वर वृद्धि गरी जिवीकोपार्जनमा सुधार गर्ने आफुहरूको उद्देश्य रहेको रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो । गाउँपालिकाले मात्रै परियोजनाका लागि दुई करोड बढि रकम विनियोजन गरेकाले आत्मनिर्भर उन्मुख कृषि र पशुपालनमा थुप्रै काम भइरहेको बताउनुभयो ।

महिलाहरूमार्फत सामूहिक कृषि खेती र बाख्रापालन सञ्चालन गरेर आत्मनिर्भरसँगै आफैँ मालिक बन्ने अवस्थाको सृजना भएको रुरु क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । उहाँले परियोजनामा करिब २१ सय महिला दिदीबहिनीलाई आर्यआर्जन जोडिएकाले परियोजनाको सहयोगले उत्साह र सामाजिक तथा सामुहिक भावना अभिवृद्धि गराएको पाण्डेयले बताउनुभयो । उहाँले बोल्नै नसक्ने दिदिबहिनीहरू पनि आफना समस्या समूहमा राख्ने भएकाले आर्थिक सामाजिक रुपान्तरणसँगै नेतृत्व विकासमा टेवा पुगेको बताउनुभयो ।

रुरु कृषि परियोजनाका संयोजक प्रकाश चालिसेका अनुसार अहिलेसम्म बाख्रा पाल्ने कृषकलाई २२५ बाख्रा वितरण, २० वटा बिउ बोका वितरण र बाख्रा उपहार गरिएको छ । बाख्राको खोर १२६ वटा निर्माण तथा सुधार गरिएको, दुग्ध प्रवर्धनअन्तर्गत ४१ वटा गाई वितरण गरिएको थियो । अहिले बम्घा सहकारीले दैनिक १४ सय लिटर दुध सहकारी मार्फत बिक्री गर्दै आएको छ । ४८ वटा भकारो सुधार, डेरी सञ्चालनका लागि १० वटा क्यान, ५०० लिटरको चिलिङ्ग भ्याट, एउटा डिजिटल मिल्क एनलाइजर र एक सेट सोलार वितरण गरिएको परियोजनाको कार्यक्रम संयोजक चालिसेले जानकारी दिनुभयो । उहाँले गाई र बाख्राको लागि उन्नत घाँस वितरण, स्रोत केन्द्र निर्माण, व्यावसायीक कृषकलाई करिव ५५० किलोग्राम तरकारीको बिउ पल, टनेल र प्रविधिसँगै ४० वटा टनेल निर्माण गरिएको बताउनुभयो ।

फलफूल प्रवर्धनअन्तर्गत माग बमोजिम सुन्तला, कागती, मेवालगायतका बिरुवा वितरण गरिएकाले अहिले लिचि र आँपका बिरुवा वितरण गरिने छ । त्यस्तै बगैँचा व्यवस्थापनका लागि सामग्री वितरण गरीएको, उँखु उत्पादनमा सहयोगको लागि बिउ प्रविधि हस्तान्तरण गर्दै सङ्कलन प्रशोधन उद्योग स्थापना गरेर २६६ टन उखु प्रशोधन गरीएको परियोजनाले जनाएको छ । जसबाट गुड खुदो उत्पादन तथा गुडबा क्यान्डी बनाई बजारीकरण गरिएको परियोजनाका पशु प्राविधिक शशी भुसालले जानकारी दिनुभयो ।