काठमाडौँ, जेठ १६ गते । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालले जलवायु अभियन्ता र सगरमाथा आरोहीद्वय बङ्गलादेशी नागरिक इक्रामुल हसन शाकिल र नेपाली नागरिक पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ ।
बुधवार ललितपुरमा एक कार्यक्रका बिच युएनडिपी नेपालले आरोहीद्वय शाकिल र श्रेष्ठलाई सम्मान गरेको हो । शाकिलले पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको हो भने पूर्णिमाले भने एकै सिजनमा तीन पटक सगरमाथा चढ्दै इतिहास रच्नुभएको छ । उहाँ एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला बन्नुभएको छ ।
प्लास्टिक प्रदूषण विरुद्ध जागरुकता भन्ने नाराका साथ सगरमाथा चढ्नु भएका दुवैले हिमालका समस्याहरूलाई सरकारले विकासका एजेन्डासँग जोड्न आवश्यक रहेको बताउनुभयो ।
सम्मान कार्यक्रममा बोल्दै उहाँहरूले आफूले हिमाल आरोहणको क्रममा देखेका जलवायु परिवर्तनका असरहरू, वातावरणीय जोखिम र स्थानीय समुदायहरूको कठिन जीवनस्थिति कठिन बन्दै गएको बताउनु भयो ।
सम्मान कार्यक्रममा युएनडिपी नेपालका नीति सल्लाहकार विजय सिंहले हिमाल संरक्षणका लागि उहाँहरूले देखाएको जागरुकताको सदुपयोग देशले गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले हिमालका समस्याहरूलाई सरकारको विकासको एजेन्डासँग जोड्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘युएनडिपीको हिमालको संरक्षण गर्नका लागि उहाँहरूको जुन जागरुकता छ त्यसको सदुपयोग गर्न खोजेको हो । उहाँहरुले आफूले भोगेको समस्या र हिमालमा देखेको दुर्गतिको विषयलाई सरकारको विकासको एजेन्डासँग कसरी लिङ्क गर्न सकिन्छ । त्यो आवश्यक पनि छ ।’’
उहाँले मानव जीवनका लागि हिमालको आवश्यकता अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।