• १७ जेठ २०८२, शनिबार

गणतन्त्रबाटै नागरिकका सपना पूरा हुने

blog

गणतन्त्र दिवसमा आयोजित कार्यक्रमका सहभागी । तस्बिर : प्रकाशविक्रम शाह

कैलाली समाचारदाता

धनगढी, जेठ १६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको जीवनस्तर सुधार गर्न सके मात्र गणतन्त्र ल्याउनका लागि लडेकाको सपना पूरा हुने बताउनुभयो । गणतन्त्र दिवसका अवसरमा धनगढीमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले यो परिवर्तन आकस्मिक रूपमा आएको होइन धेरैले ज्यान गुमाए, बेपत्ता भए, घाइते भए, मानसिक पीडा भोगेको बताउनुभयो । हरेक सपना गणतन्त्रले नै पूरा गर्ने उहाँले बताउनुभयो । 

मुख्यमन्त्री शाहले जनताको जीवनस्तर सुधार गर्न सके मात्र गणतन्त्र ल्याउनका लागि लडेकाको सपना पूरा हुने बताउँदै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति रोजगारी, सडकलगायतका भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । उहाँले गणतन्त्र बलियो बनाउन आपसी एकता कायम गर्दै जनताका हितमा काम गर्न जरुरी रहेको पनि बताउनुभयो । उहाँले सङ्घ र स्थानीय तहका सरकारसँग मिलेर जनताका हितमा काम गरिरहेको दाबी पनि गर्नुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख नाजिर मियाँ, सभामुख भीमबहादुर भण्डारी, मन्त्रीहरू, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश सभा सदस्यलगायतको उपस्थिति थियो । वासुलिङ समाचारदाताका अनुसार बैतडी सदरमुकाममा पनि गणतन्त्र दिवस मनाइएको छ । स्थानीय छलिया नृत्य तथा सांस्कृतिक झाँकीसहित सो दिवस मनाइएको हो ।