आजको दिन, हाम्रा लागि विशेष दिन हो । वर्षौं लामो सङ्घर्ष, हजारौँ दिदीबहिनी दाजुभाइहरूको बलिदान र हामी सबैको अथक मेहनतबाट २०६५ जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको दिन । त्यस ऐतिहासिक दिनको सम्झनामा आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ । गणतन्त्र–हामीले प्राप्त गरेका होइनौँ, आर्जन गरेका हौँ–हजारौँ जनताको बलिदानबाट र त्यागबाट । मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ । हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य हामीले कहिल्यै बिर्सनु हुँदैन, बिर्सने छैनौँ ।
आज यस अवसरमा गणतन्त्र आर्जन गर्न र यसलाई संस्थागत गर्न योगदान गर्ने अग्रजहरू, प्रत्येक राजनीतिकर्मी, न्यायकर्मी, निजामती, सुरक्षाकर्मी र सार्वजनिक सेवाका सबै राष्ट्रसेवक, नागरिक समाज, सञ्चारकर्मीसहित आमजनसमुदायमा हार्दिक आभार प्रकट गर्दछु । ऐतिहासिक जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदहरूप्रति सदा झैँ नतमस्तक हुँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनको क्रममा घाइते र अपाङ्गता हुनुहुने सबै दिदीबहिनी दाजुभाइहरूप्रति सम्मान व्यक्त गर्दछु ।
देशमा गणतन्त्रको बिहानी नहुँदासम्म बितेको कठोर कालो रात सम्भवतः आजको नवोदित पुस्ताको प्रत्यक्ष स्मृतिमा छैन । जायज होउन् वा नाजायज, आफ्ना मत र आग्रहलाई सामाजिक सञ्जालमा निर्बाध व्यक्त गरिरहेको आजको पुस्ताले विचार र समाचारमा प्रतिबन्ध लागेका सञ्चार माध्यम र बन्द रहेका टेलिफोन तथा मोबाइलहरूको कथा मात्रै सुनेको हुनु पर्छ । त्यसबेला हुकुमी आदेश तामेली मात्रै गर्न अभिशप्त समाज आज निर्बाध रूपमा आफ्नो मत व्यक्त गर्न र राज्य सञ्चालनका कुनै पनि घटनालाई ‘जज’ गर्न पाउने ठाउँमा उभिएको छ ।
हुकुमी निगाहले जिल्ला, गाउँ र नगरका प्रमुखहरू तोक्ने प्रणालीको ठाउँमा आज जनता आफैँले मतदान गरेर वडाका सदस्यादेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जातजाति र समुदायका कम्तीमा ३६ हजार ५७ प्रतिनिधि चुन्छन् । सार्वजनिक सञ्चार प्रणालीको प्रतिबन्धका कारण निरङ्कुशतन्त्रमा गुपचुप हुने अपराध र भ्रष्टाचारउपर गणतन्त्रमा सार्वजनिक निगरानी र सार्वजनिक सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएको छ । यसको लाभ लिएर निरङ्कुशतावादीहरूले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शितालाई फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेका छन् ।
आजको दिनले हामीलाई विगतको सङ्घर्ष, जनआन्दोलनसँगै तय गरेको गन्तव्य, सँगै हिँडेको यात्रा र हासिल गरेका साझा उपलब्धिलाई सम्झाउँछ । हिजोको गरिबी, हिजोको असमानता, हिजोको अविकास र हिजोको पछौटेपनबाट हामी निकै अगाडि बढिसकेका छौँ । देशमा निरङ्कुश राजतन्त्र र गणतन्त्र कालका विकास सूचकाङ्कको तुलनात्मक अध्ययन गर्न म हाम्रो नवोदित युवा समाजलाई आग्रह गर्दछु । लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत, अनुशासित र अझ सुदृढ बनाएर हामी मुलुकलाई प्रगतिको बाटोमा लैजान सक्छौँ ।
निरङ्कुशतन्त्र र गणतन्त्र, कुन उत्तम हो भन्ने हाम्रो समाजको बहसको विषय होइन । राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नुपर्ने धेरै कुरा हुन सक्छन् । गरिबी, बेरोजगारी, भ्रष्टाचार–राष्ट्रका यी चुनौती हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर होइन, लोकतान्त्रिक प्रणालीमा चुनावमार्फत इमानदार राजनीतिक शक्ति छनोट गरेर मात्र सामना गर्न सकिन्छ । इतिहास साक्षी छ, त्यो मुकुटको आडमा जनतामाथि शासन गरिएको थियो, सेवा होइन । राज्य यन्त्रलाई शासनबाट सेवातर्फ प्रवेश गराउने काम गणतन्त्र आएपछि सुरु भएको हो, त्यो अझै सम्पन्न भएको छैन ।
इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश राजतन्त्र र जनताबिच सङ्घर्ष र सम्झौताहरू भए । जनतासँग भएका सम्झौतालाई पटक पटक तोडेको हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताले गणतन्त्र स्थापना गरेका थिए । जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात वंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको छ तर स्वतन्त्रताको अभ्यासमा हुर्केको आजको समाजले जनताको मतभन्दा शाही इशारा ठुलो हो किमार्थ भन्न सक्दैन । हजारौँ सहिदको बलिदान र लाखौँ नेपालीको सपनाभन्दा अढाई सय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछौटे अवस्थामा पु¥याउने एउटा वंशको विशेषाधिकार कुुनै अर्थमा पनि ठुलो हुनै सक्दैन । स्वतन्त्रताको मलिलो जमिनमा उम्रिएको जनताको सपना दरबारको भित्तामा लगेर टाँस्सियोस्– कसैले भन्न सक्दैन ।
इतिहास स्मरण गर्ने हो, मनन गर्ने हो, हामी बाँच्ने त वर्तमानमै हो । हिजो जनताले सिंहदरबार र नारायणहिटी गेट बाहिरबाट हेर्थे, आज जनता त्यहाँभित्र पस्छन् । गणतन्त्र जनताको शासन हो, उनीहरूले चुनेका प्रतिनिधि त्यहीँबाट उनका लागि सेवा र शासन गर्छन् । हिजो रेडियोले समाचारका रूपमा हुकुम मात्र बजाउँथ्यो, आज सामाजिक सञ्जालमा जनताका आवाज गुञ्जिन्छन् ।
गणतन्त्र जनताको व्यवस्था हो । यसमा यदि कमजोरी भयो भने गणतन्त्रको होइन, निर्णयकर्ताको कमजोरी हुन सक्छ । निर्णयमा हुने कमजोरीलाई निर्णयबाटै सच्याउने सुविधा पनि गणतन्त्रमा मात्रै हुन्छ । राजतन्त्रलाई प्रश्नभन्दा माथि राखिन्थ्यो, गणतन्त्रमा आलोचना बाहिर कोही रहन्नन् । आज तपाईं सरकारको आलोचना गर्न सक्नुहुन्छ, गर्न पाउनुभएको छ । हामी सरकार बदल्न पाउँछौँ, निडर भएर लेख्न, बोल्न पाउँछौँ । अर्काको अधिकारमा दख्खल नदिई आफ्नो अधिकारको वकालत गर्न पाउँछौँ । किनभने हामी गणतन्त्रमा छौँ । यही स्वतन्त्रता, यही उत्तरदायित्व हाम्रो शक्ति हो ।
हामीले गणतन्त्रलाई संस्थागत गर्दै लैजानु छ–नारामा होइन, व्यवहारमा । हिजोको निरङ्कुशतन्त्रबाट समाजलाई मुक्त गरेर पूर्वाधार विकासको जुन रफ्तार तय गरिएको छ, त्यो लोकतन्त्र, गणतन्त्रका कारण सम्भव भएको हो । हिजोको असमानता तोडेर सामाजिक सुरक्षाको जुन प्रबन्ध भएको छ, त्यो गणतन्त्रको देन हो । निरङ्कुश राजतन्त्रले उपभोग गरेका विलासी अढाई सय वर्षभन्दा गणतन्त्र स्थापना भएको १७ वर्षमा कैयौँ गुणा बढी विद्यालय, अस्पताल, सञ्चार र यातायात पूर्वाधारमा विकास भएको छ । वंशीय शासनका अभियन्ताहरूले गणतान्त्रिक व्यवस्थाको लाभ लिँदै सामाजिक सञ्जालमा प्रवाह गरेका प्रायोजित ‘स्पोन्सर्ड’ सामग्रीभन्दा बाहिर गएर तथ्यहरूको अध्ययन ग¥यौँ भने हामी यससम्बन्धी स्पष्ट चित्र देख्न सक्ने छौँ ।
गणतन्त्रमा हरेक नागरिकको आत्मसम्मान सुरक्षित हुन्छ, भइरहेको छ । शिक्षा, स्वास्थ्य, उद्यम र रोजगारी–यी क्षेत्रमा धेरै परिवर्तन आएको छ । यसमा अझै सुधार ल्याउन आवश्यक छ । त्यसका लागि सरकार सक्रिय छ । सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियो बनाउन लागेका छौँ, अर्थात् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागिपरेका छौँ ।
गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक जनता हो । लोकतान्त्रिक गणतन्त्र– ‘जनताको लागि, जनताद्वारा, जनताको’ शासन प्रणाली हो । यसको मर्म अनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन् । त्यसैले राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा छ । जनताको अधिकार र उत्तरदायित्वको संयोजन गर्न सक्दा मात्र गणतन्त्रले हाम्रो सुन्दर देश नेपाललाई विकास, समृद्धि र सुशासनको अत्युत्कर्षमा पु¥याउन सक्ने छ ।
आजको दिन हामी आफैँले आफैँलाई सम्झाउने दिन हो । गणतन्त्र आउनुअघि देशको विकासका सूचकाङ्कहरू कहाँ थिए, आज कहाँ पुग्यो ? आज हामी आफैँले बितेका दिन फर्केर हेर्ने दिन पनि हो । गणतन्त्र आउनुअघि मानव विकास सूचकाङ्क कहाँ थियो, आज कहाँ पुग्यो ? राजतन्त्र हुँदाका अढाई सय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे ? राजतन्त्रकालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो ? गरिबी कति थियो, कति घट्यो ? खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो ? जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो ? यस्तै प्रश्नहरूका तथ्यपरक उत्तरले हामीलाई गणतन्त्रका उपलब्धि सम्झाउने छन् । पुनः एक पटक गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना । धन्यवाद ।
(प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस २०८२ को विशेष समारोहमा बिहीबार गर्नुभएको सम्बोधनको पूर्ण पाठ)