बोमलाल गिरी
नवलपुर, जेठ १६ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । राति परेको पानीले विनयी त्रिवेणीको दुम्किवासस्थित विनयी खोलाको डाइभर्सन बगाएपछि बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा गाडीहरू लामो जाममा परेका छन् भने यात्रु मारमा परेका छन् । खोलाले डाइभर्सन बगाएको यो तेस्रो पटक हो । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा पुल भाँचिएपछि डाइभर्सनमार्फत गाडी आवतजावत गराउने गरिएको थियो ।
खोलाले डाइभर्सन बगाएपछि अत्यावश्यक साधनलाई होङ्सी सिमेन्टको बाटो भएर आवतजावत गर्न लगाइएको प्रहरीले जनाएको छ ।