• ७ मंसिर २०८१, शुक्रबार

"कथा भन्‍नु नै कथक हो"

blog

काठमाडौं, जेठ २९ गते। नम्रता केसी आफूलाई एक नृत्याङ्गनाको रुपमा चिनाउँनुहुन्छ। सर्लाहीमा जन्मिएर काठमाडौंमा बस्दै आउनुभएकी केसीले भारतको लखनउ विश्वविद्यालयबाट कथक नृत्यमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ। काठमाडौंमै रहेर एस्थेटिक डान्स स्टुडियोमार्फत् कथक नृत्यको प्रशिक्षण चलाइरहनुभएकी केसीले भर्खरै कथक नृत्यमा एक वर्षे कोर्स पनि सुरु गर्नुभएको छ। कथक नृत्यमा आधारित रहेर केसीसँग सुकृत नेपालले गरिएको यो कुराकानी :  

नाच्नु भनेको के हो ?

नाच्नु भनेको अभिव्यक्ति हो।

के हो कथक नाच ?

कथा भन्नु नै कथक हो।  

कसरी सिक्नुभयो कथक ?

मेरो नृत्य सिकाइको आधार पढाइ नै हो। सानैदेखि नाच्न मन गर्ने भएकाले बुवाको प्रेरणामा पद्मकन्या कलेजमा नृत्य विषय लिएर अध्ययन सुरु गरे। त्यहाँ पढ्दा लोक नृत्य र शास्त्रीय नृत्य पढ्न पाइन्थ्यो। लोक नृत्यसँगै शास्त्रीय नृत्य पढ्दै जाँदा कथकको अभ्यास सुरुभयो। नृत्य विषय लिएरै स्नातक तहको पढाइ सकेपछि स्नातकोत्तर पनि यसमै गर्नुपर्छ भन्ने लाग्यो तर त्यतिबेला नेपालमा नृत्यमै स्नातकोत्तर पढ्न सकिने व्यवस्था थिएन। त्यसैले भारतको लखनउ विश्वविद्यालयबाट कथकमा स्नातकोत्तर गरेँ। 

नेपालमा कथक नृत्यको भविष्य कस्तो देख्नुहुन्छ ?

कथक विश्वव्यापी रुपमै प्रसिद्ध शास्त्रीय नृत्य हो। अन्तर्राष्ट्रिय व्यापकताले नेपालमा पनि यसको भविष्य वा सम्भावना राम्रै छ। अनि नेपालमा कथा पनि धेरै छन् !

अहिलेसम्म कतिजति प्रस्तुति दिनुभयो ?

त्यसरी गनेकै त छैन। तर, धेरै गरेको छु, गर्दैछु।

कथक नृत्यले जीवनको गुजारा चल्छ ?

यो प्रश्नको जवाफ साधारणीकरण गरेर दिन सकिँदैन होला, किनभने यो सापेक्षित हुन्छ। मेरो अनुभवबाट भन्नुपर्दा आवश्यक विशेषज्ञता हासिल गरेर काम गर्ने हो भने कथक नृत्य गरेर वा पढाएर काठमाडौंमा साधारण किसिमले गुजारा चल्छ। हामीले भर्खरै अनामनगरमा एस्थेटिक डान्स स्टुडियोको प्रशिक्षण केन्द्र खोलेका छौं जहाँ हामी तीन महिनादेखि शास्त्रीय नृत्य मात्रै सिकाइरहेका छौं। कथक गरेरै जीवन गुजारा गर्न सकियोस् भनेर भर्खरै कथकको एक वर्षे कोर्स पनि सुरु गरेका छौं। आवश्यकता पर्दा भविष्यमा अरु विधाहरु पनि सिकाउन सक्छौं तर अहिलेलाई यसैले पुगिरहेको छ।

  

जीवनको सहकार्य र रंगमञ्चको सहकार्य कस्तो छ ? 

गाउँघरतिर सब्जी फलाउन थाङ्ग्रो लगाउने चलन छ। मेरो श्रीमान मेरो लागि त्यस्तै थाङ्ग्रो हो। जसको सहयोगले म फुल्दै छु, फैलिदै छु।

अहिले केमा व्यस्त हुनुहुन्छ ?

व्यस्तताको हिसावले अहिले पुरै समय कथक नृत्यको प्रशिक्षणमा नै गइरहेको छ। एस्थेटिक डान्स स्टुडियोको अनामनगरस्थित प्रशिक्षण केन्द्रमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म नै विभिन्न समूहमा कथक सिक्ने प्रशिक्षार्थी हुनुहुन्छ, उहाँहरुलाई सिकाएर र नयाँ कामको योजना बनाएर अघि बढ्दैछु।  हामीले भर्खरै नृत्य श्रृंखला सुरु गरेका छौं। नेपालमा नृत्यको पनि नियमित प्रदर्शन होस् भन्ने उद्देश्य राखेर सुरु गरिएको यो कार्यक्रमको दुईवटा श्रृंखला काठमाडौंमा सफलतापूर्वक सम्पन्न भइसकेको छ। अब तेश्रो श्रृंखला असार महिनामा पोखरामा र नयाँ प्रस्तुतिसहितको चौथो श्रृंखला आगामी साउनमा काठमाडौंमा गर्ने तयारी हुँदैछ। 

नाटक छोडेर नृत्यतिर लाग्नुको कारण ?

दुई वटा नाटक खेलेको हो। तर, मूल कुरा ती नाटकमा अभिनय गर्दैगर्दा पनि म नृत्याङ्गना नै थिए।  अहिले पनि नृत्याङ्गना नै छु। खासमा नृत्य र नाटकसम्बन्धी यो बुझाइ नै मलाई अपुरो लाग्छ। हामीले गर्ने नृत्य पनि अभिनय नै हो। नाट्य भनेको नृत्यको विकसित रुप हो। कथक पढ्दा हामी पनि पूर्वीय शास्त्रका अभिनय सिद्धान्त पढ्छौं। त्यसकारण अभिनय छोडेर नृत्यतिर लागेको भन्दा पनि नृत्यमार्फत अभिनयको फरक भाषा खोजिरहेको भन्न रुचाउँछु। त्यसबाहेक नेपालको नाटक क्षेत्रसँगको सहकार्य मलाई मनपर्छ र जुरेको बेला केही कामहरु गर्दै आएकी छु र गरिरहने रहर पनि छ।