गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १६ गते । ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ बिहीबारबाट काठमाडौँमा सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रदर्शनी उद्घाटन गर्दै गणतन्त्र दिवसका अवसरमा सातै प्रदेशबाट समावेशी रूपमा कलाको प्रतिनिधित्व हुने गरी प्रदर्शनी आयोजना हुनु हर्षको विषय भएको बताउनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रले दिएको स्वतन्त्रताले कलाकारलाई निर्बाध रूपमा कला सिर्जना गर्ने अवसर प्रदान गरेको भन्दै उहाँले प्रदर्शनीले देशमा सकारात्मक सन्देश दिनुका साथै आशाको सञ्चार गरेको धारणा राख्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लोकतान्त्रिक गणतन्त्रको भावधारा र सांस्कृतिक राष्ट्रिय नारालाई उजागर गर्दै प्रदेश तथा स्थानीयस्तरमा रहेका रैथाने कलाका गुणस्तरमा जोड दिने खालका कार्यक्रमलाई आगामी दिनमा प्राथमिकता दिँदै जाने धारणा राख्नुभयो ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले नेपाली ललितकला क्षेत्र पुनर्जागरणको चरणमा रहेको बताउँदै कलाकारले युगलाई जीवन्त बनाउने काम गर्ने बताउनुभयो । उहाँले प्रदर्शनीले देशको अर्थतन्त्रमा सकारात्मक योगदान दिने धारणा राख्नुभयो ।
प्रदर्शनीमा देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला/मूर्तिकला, वास्तुकला, समसामयिक/आधुनिक चित्रकला/मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश छन् । तिनमा मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किराँतका कलाको विशेष सहभागिता छ ।
गोरखापत्रकर्मी तामाङ पुरस्कृत
कार्यक्रममा गोरखापत्र दैनिककी शिवा तामाङ र नेपाल टेलिभिजनका हेमन्त गौतमलाई राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरियो । पुरस्कारको राशि ३० हजार रुपियाँ रहेको छ । यस वर्षको ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकारहरू डा. सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरियो । पुरस्कारको राशि एक लाख ५० हजार रहेको छ । ‘सहिद कलाकार अनिल लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ कलाकार अस्मिना रञ्जित र ‘सहिद कलाकार बाबुराम लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ गङ्गाधर सारूलाई प्रदान गरियो । राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज वज्राचार्य, ललितकला प्रवर्धन सम्मान नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरियो ।
सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल (परम्परागत चित्रकला) लाई प्रदान गरियो । राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक÷आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शङ्करकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्र्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला अन्तर्गत फोटोग्राफीतर्फ सफलप्रकाश श्रेष्ठलाई प्रदान गरियो । कार्यक्रममा सात वटै प्रदेशका विभिन्न विधाका कलाकारलाई पुरस्कृत गरिएको थियो ।