गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको सम्मान नै आत्मनिर्भरताको आधार रहेको बताउनुभएको छ ।
सातौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले महिलाको हक अधिकार सुनिश्चित गर्न भएका प्रयासको स्मरण गर्नुभयो । उहाँले २०६३ जेठ १६ गते तत्कालीन पुनस्र्थापित प्रतिनिधि सभाले महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चार वटा विशेष प्रस्ताव पारित गरेको स्मरणमा राष्ट्रिय महिला अधिकार दिवस मनाउन थाल्नु सुखद रहेको बताउनुभयो । उहाँले महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गरी लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस उत्सवले महिलाको श्रम, सिप, सिर्जनशीलता र क्षमतालाई विकास प्रक्रियामा मूल प्रवाहीकरण गरी आत्मनिर्भर बनाउन, स्रोतसाधन एवं अवसरमा समान पहुँच स्थापित गर्न र निर्णय प्रकियामा सहभागिता अभिवृद्धि गर्ने सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको उहाँले बताउनुभयो । राष्ट्रपति पौडेलले महिलाको राजनीतिक, सामाजिक, न्यायिक पहुँचलगायतका क्षेत्रमा समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउन राज्यका साथै सबै नागरिकको सामूहिक प्रयास हुनु जरुरी रहेको बताउनुभयो ।