• १७ जेठ २०८२, शनिबार

सगरमाथाको फेदीमा पिटर्स

blog

खुम्जुङ भ्रमणका क्रममा न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्सलगायत । तस्बिर : गार्डेन राई

सन्तोष राउत/गार्डेन राई

सोलुखुम्बु, जेठ १६ गते । न्युजिल्यान्डका उपप्रधानमन्त्री एवं विदेशमन्त्री विन्स्टन पिटर्स ७२ औँ सगरमाथा दिवस मनाउन हिमाली पर्यटनको केन्द्र सोलुखुम्बुको खुम्जुङ पुग्नुभएको छ । न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेकेको दिनको सम्झना गर्न उपप्रधानमन्त्री पिटर्स सगरमाथाको काखमा रहेको खुम्जुङमा आउनुभएको हो ।

नेपाली पर्यटन विकासको मुख्य जगका रूपमा रहेको ऐतिहासिक दिन अर्थात् मे २९ का अवसरमा खुम्जुङ पुगेर कार्यक्रममा सहभागी जनाउँदै उहाँले खुम्बु क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रमा आगामी पाँच वर्षमा १.८ मिलियन डलर (करिब साढे २४ करोड रुपियाँ) खर्च गर्ने बचन दिनुभएको छ । खुम्जुङ माध्यमिक विद्यालयमा भएको कार्यक्रममा उपप्रधानमन्त्री पिटर्सले नेपालको हिमाली क्षेत्रसँग न्युजिल्यान्डको सम्बन्ध एकदम अविस्मरणीय रहेको बताउँदै न्युजिल्यान्डका हिलारी र नेपाली तेन्जिङले सगरमाथाको सफल आरोहण गरेर विश्वमै ठुलो उपलब्धि दिलाएको स्मरण गर्नुभयो ।

सगरमाथाको शिखरबाट गाँसिएको नेपालसँगको सम्बन्धका कारण हिमालयन ट्रस्टमार्फत नेपाल र सोलुखुम्बुको स्वास्थ्य र शिक्षामा सहयोग गरिरहेको उहाँले बताउनुभयो । यो सम्बन्ध सधैँ रहिरहने उहाँको भनाइ छ । यस अवसरमा खुम्बु पासाङल्हमु गाउँपालिका अध्यक्ष मिङ्मा शेर्पाले र स्थानीयले मन्त्री पिटर्सलाई स्वागत गर्दै न्युजिल्यान्ड सरकारको शिक्षा क्षेत्रमा भएको निरन्तर सहयोगले खुम्बु क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र शिक्षाको समग्र गुणस्तरमा ठुलो मद्दत पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो ।