गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १६ गते । सरकारले नसर्ने रोगलाई प्राथमिकतामा राखेर सातै प्रदेशमा मुटु रोग र क्यान्सर रोगको उपचार विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै नसर्ने रोगलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलका अनुसार सरकारले फागुन महिनामा नसर्ने रोगको सघन स्क्रिनिङ गर्ने व्यवस्था मिलाएको छ । आगामी आर्थिक वर्षका लागि स्वास्थ्यमा कुल ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । गत वर्ष सरकारले स्वास्थ्यमा ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको थियो ।
मन्त्री पौडेलले स्वच्छ आहार, योग, ध्यान, व्यायाम र सकारात्मक सोचसहितको जीवनशैली विकास गर्न ‘निरोगी नेपाल’ अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले विशिष्टीकृत स्वास्थ्य सेवाको दायरा विस्तार गर्न सक्षम जनशक्ति, आधुनिक उपकरण र पूर्वाधारमा लगानी वृद्धि गर्ने बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकास्थित केन्द्रीय अस्पतालमा मस्तिष्क, मेरुदण्ड तथा स्नायु रोगको गुणस्तरीय उपचारका लागि राष्ट्रिय न्युरोसाइन्स केन्द्र स्थापना गरिने जानकारी दिनुभयो । उहाँले कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य सेवाको सेन्टर अफ एक्सिलेन्सका रूपमा विकास गरिने बताउनुभएको छ । उहाँले उच्च रक्तचाप, मुटु, मधुमेह, मिर्गौला, कलेजो र क्यान्सरलगायतका नसर्ने रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक र आधुनिक उपकरणसहित विशिष्टीकृत सेवा विस्तार गरिने जानकारी दिनुभयो । मन्त्री पौडेलले चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीका लागि अध्ययनको कोटा बढाउने घोषणा गर्नुभएको छ ।