• १६ जेठ २०८२, शुक्रबार

‘एम्बेसडर अफ पाकिस्तान’

निबन्ध तथा वक्तृत्वकलाका विजयीहरू पुरस्कृत

blog

‘एम्बेसडर अफ पाकिस्तान’ निबन्ध लेखन तथा ‘एम्बेसडर अफ पाकिस्तान’ वक्तृत्वकलाका विजयीसहित अन्य ।

काठमाडौं, जेठ १५ गते। नेपालस्थित पाकिस्तान दूतावासद्वारा आयोजित १२औं वार्षिक ‘एम्बेसडर अफ पाकिस्तान’ निबन्ध लेखन प्रतियोगिता तथा ८औं वार्षिक ‘एम्बेसडर अफ पाकिस्तान’ वक्तृत्वकला प्रतियोगिता बिहीबार सम्पन्न भएको छ।

प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई नगद तथा पदकसहित पुरस्कृत गरिएको छ । यस वर्ष निबन्ध लेखन प्रतियोगिताको विषय ‘कृत्रिम बौद्धिकता र मानव जातिको भविष्य’ रहेको थियो। प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयका प्रतीक पोखरेल प्रथम, आयुष शाह द्वितीय, र सन्त जोसेफ इङ्लिस एकेडेमीका सञ्जोक मगर तृतीय भएका छन्। 

विजयीहरूलाई क्रमशः स्वर्ण, रजत र कास्य पदक, स्मृतिचिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो। साथै, अन्य १० जना विद्यार्थीलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिएको थियो।

वक्तृत्वकला प्रतियोगितामा ‘पुस्तक वा प्रविधि र शिक्षाको भविष्य’ विषयमा उच्च माध्यमिक तथा विश्वविद्यालय तहका विद्यार्थीहरूले धारणा प्रस्तुत गरेका थिए। उक्त प्रतियोगितामा पोखरास्थित वन विज्ञान संस्थान, त्रिभुवन विश्वविद्यालयकी प्राप्‍ती लम्साल प्रथम, शिवपुरी कलेज काठमाडौंकी रीत काफ्ले द्वितीय र सेंट जेभियर्स स्कुल, जावलाखेलका रितेश देव तृतीय भएका छन्। उनीहरूलाई क्रमशः पदक, स्मृतिचिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो। अन्य १२ जना सहभागी विद्यार्थीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा नेपालका विभिन्न ४० विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। प्रतियोगिता विगत दुई साता चरणबद्ध रूपमा सञ्चालन भएको थियो र अन्तिम चरण बिहीबार सम्पन्न भएको हो।

कार्यक्रममा मधेसी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजय कुमार दत्तले शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासजस्ता क्षेत्रमा पाकिस्तानको निरन्तर सहयोगप्रति प्रशंसा व्यक्त गर्दै यस प्रकारका प्रतियोगिताहरूले नेपाल–पाकिस्तान युवाबीच साझा मूल्य र जिम्मेवार वैश्विक नागरिकताको भावनालाई सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभयो।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले समापन मन्तव्य दिँदै विद्यार्थीहरूले समसामयिक र जटिल विषयमा प्रस्तुत गरेको विश्लेषणात्मक धारणा सराहनीय भएको बताउनुभयो। उहाँले यस्तो अभ्यासले युवा पुस्तामा आलोचनात्मक सोच विकास गर्न सहयोग पुर्‍याउने मात्र नभई नेपाल–पाकिस्तान सम्बन्धलाई समेत मजबुत बनाउने बताउनुभयो।

पाकिस्तान दूतावासले सञ्चालन गर्दै आएको निबन्ध र वक्तृत्वकला प्रतियोगिता क्रमशः १२ र ८ वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएका छन्, जसले नेपाली युवामाझ लोकप्रियता हासिल गर्दै आएको छ।