गोरखापत्र समाचारदाता
काठमाडौं, जेठ १५ गते। नेपाली महिलालाई उद्यमशीलताको क्षेत्रमा अग्रसर गराउने उद्देश्यले नेपालमै पहिलोपटक ‘एकेडेमी फर वुमन इन्टरप्रिनर्स’ कार्यक्रमको सुरुआत गरिएको छ।
नेपालका लागि अमेरिकी राजदूत डीन आर। थम्पसनले बिहीबार काठमाडौंमा आयोजित एक समारोहका बीच उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो।
राजदूत थम्पसनले अमेरिकी सरकारद्वारा समर्थित यस कार्यक्रमले संयुक्त राज्य अमेरिका र नेपालबीचको आपसी सम्बन्धसँगै व्यावसायिक सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले महिला उद्यमशिलता प्रवर्द्धनलाई आर्थिक समावेशिता र सामाजिक सशक्तीकरणका लागि महत्वपूर्ण अवसरको रूपमा वर्णन गर्दै, यस्तो कार्यक्रमले नेपाली महिलाहरूलाई आफ्नै उद्यम तथा व्यवसाय स्थापना गर्न, सुदृढ गर्न र स्थानीय आर्थिक विकासमा योगदान पुर्याउन प्रेरित गर्ने उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “कुनै पनि देशमा महिलाहरू सशक्त हुँदा केवल अर्थतन्त्र मात्र अघि बढ्दैन, समुदायको जीवनस्तर समेत फस्टाउँछ।”
कार्यक्रमअन्तर्गत बिहीबारदेखि नै तीन दिने आवासीय बुटक्याम्पु सुरु भएको छ, जसमा नेपालका प्रमुख व्यावसायिक नेतृत्त्वद्वारा, अमेरिकी चेम्बर अफ कमर्सको सहकार्यमा प्रशिक्षण प्रदान गरिनेछ।
अमेरिकी दूतावासका अनुसार उक्त बुटक्याम्पमा ३० जना महिला उद्यमीले सहभागिता जनाइरहेका छन्। उनीहरूलाई विश्वव्यापी रूपमा मान्यता प्राप्त ‘नजाफी १०० मिलियन लर्नर्स’ कोर्समार्फत प्रशिक्षण दिइनेछ। सहभागीहरूले व्यवसाय सुदृढीकरण, परामर्श, नवप्रवर्तन र रोजगारी सिर्जनामा सहयोगी व्यावहारिक उपकरण तथा स्रोतहरू प्राप्त गर्नेछन्।
बुटक्याम्पपछि सहभागीहरूका लागि छ महिनासम्म व्यवस्थापन तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने प्रक्रिया पनि अघि बढाइनेछ।
कार्यक्रमको दीर्घकालीन उद्देश्य महिला उद्यमीहरूलाई सक्षम बनाउँदै नेपाल–अमेरिका बीचको व्यावसायिक साझेदारीलाई थप सुदृढ बनाउने रहेको छ।