• १७ जेठ २०८२, शनिबार

लोकतन्त्रका कारण जनता शक्तिशाली : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १५ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रले जनतालाई शक्तिशाली बनाएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरिएको सांस्कृतिक झाँकीसहितको उत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “लोकतन्त्रले जनतालाई शक्तिशाली बनाउँछ भन्ने कुराको मान्यता हामीले स्थापित गरेका छौं । कतिपयले भन्ने गर्छन् संघीयता बोझिलो भयो, खर्चिलो भयो । संघीयताले के दियो भन्ने प्रश्न गर्ने गर्दछन् ।”

उहाँले जेठ १५ लाई राष्ट्र निर्माणको ऐतिहासिक दिन बनाउने सङ्कल्पसाथ बजेट प्रस्तुत गर्ने दिनका रुपमा संविधानमा व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सिङ्गो राष्ट्रको ध्यान बजेटमा केन्द्रीत भइरहेका बेला जनताको विजयको उत्सवको दिनलाई पछाडि फर्काउने प्रकारका अवाञ्छित गतिविधि भइरहेको सन्दर्भमा हाम्रो पार्टीले यो दिनलाई जनताको उत्सवको दिनका रुपमा आयोजना गर्नुपर्दछ भन्ने निश्कर्षका आधारमा देशव्यापीरुपमा आजको दिनलाई जनताको उत्सवको रुपमा आयोजना गरेका छौं ।”

उहाँले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतीकको रुपमा रहेको तथा यो व्यवस्थाप्रति नेपाली जनताको अपनत्व रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “यो व्यवस्थाप्रति नेपाली जनताको अपनत्व छ । नेपालीको आफ्नो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय विशेषताका आधारमा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था स्थापना गरेका छौं । त्यो व्यवस्थाको माध्यमबाट नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउने यात्रा निरन्तर जारी छ ।”