बागलुङ समाचारदाता
बागलुङ, जेठ १४ गते । अव्यवस्थित सडक खन्दा पहिरोको जोखिम बढेपछि पश्चिम बागलुङको निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रलाई पदमार्गले जोडेको छ । निसीखोला–१, देवीस्थानमा पर्ने पर्यटकीय गन्तव्य हर्पे र धुवाँकोटलाई पदमार्गले जोडिएको हो ।
पर्यटकीय गन्तव्यलाई पदमार्गले जोड्ने, भएका सडक स्तरीय बनाएर बाढीपहिरोको प्रकोप न्यूनीकरण गर्ने लक्ष्यले काम भइरहेको निसीखोला–१ का वडाध्यक्ष चन्द्रसिंह रामजालीले बताउनुभयो । देवीस्थानदेखि हर्पे, धुवाँकोट जाने पदमार्ग स्थानीयले खनीखोस्री गरेर निर्माण गरेका हुन् । पदमार्गमा स्थानीय ढुङ्गा छापिएको छ । वडाध्यक्ष रामजालीले नौ लाख रुपियाँको लागतमा बनेको पदमार्गले धुवाँकोट आउजाउ गर्न सहज बनेको बताउनुभयो । त्यस्तै देवीस्थानदेखि हुल्दी, ठुलो नाङ्गी जाने पदमार्ग सात लाख रुपियाँको लागतमा व्यवस्थित बनाइएको छ । पदमार्ग निर्माणमा वडा र पालिकाले लगानी गरेको हो । रामजालीले भन्नुभयो, “बिरामीलाई समयमा स्वास्थ्य संस्थामा लैजान सडक स्तरीय चाहिन्छ । त्यो यहाँ अभाव छ । कम्तीमा परम्परागत बाटोघाटोलाई सिँढीमार्गबाट भए पनि जोडेर नजिक बनाउने, बर्सातमा पनि सुरक्षित बनाउने काम गरेका छौँ । अत्यावश्यक पर्दा बिरामीलाई बोकेरै स्वास्थ्य संस्था लैजान सिँढीमार्गले सहज बनाएको छ ।”
निसीखोला सदरमुकामदेखि निकै टाढा र विकटको गाउँपालिका हो । ग्रामीण बस्ती, दलित र जनजातिको बाहुल्य, शिक्षा र स्वास्थ्यबाट निकै पछाडि परेको गाउँपालिका भएकाले यहाँ विकासका धेरै योजना आवश्यक रहेको रामजालीको भनाइ छ । सानो पुँजी, पालिकाको सीमित स्रोतसाधनले विकासमा फड्को मार्न धेरै कठिन रहेको उहाँको बुझाइ छ ।
निसीखोलाका अधिकांश भूगोल पर्यटकीय क्षेत्रले समेटेको छ । पातिहाल्ने बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमानामा पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको ‘हब’ बन्दै गएको छ । पातिहाल्नेमा हाल केही होटेल मात्रै छन् । आवश्यक पूर्वाधार बनेपछि मात्र यो क्षेत्र पर्यटकीय ‘हब’ बन्ने छ । त्यसबाहेक रिगताल, तिलाचन, बुकी, गुमसेरा र ढोरपाटनतर्फको टीकाचुली पर्यटकीय क्षेत्र हुन् । ती क्षेत्रमा लगानी बढाएर पर्यटक भित्र्याउने अभियानमा चासो राखेको निसीखोला–६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले बताउनुभयो ।
मध्यपहाडी लोकमार्ग निर्माणले बागलुङको निसीखोलादेखि रुकुमको भुमे जोडिएको छ । दुई जिल्ला, दुई प्रदेशसँगै लुम्बिनी र कर्णालीका अधिकांश जिल्लाको पोखरा र काठमाडौँसँगको पहुँच विस्तार भएको छ । रुकुम, दैलेख, जाजरकोट, रोल्पा, सल्यान, डोल्पाको सिधा पहुँच बागलुङबाट बढेकाले पर्यटनबाट ठुलो फाइदा लिन सकिने बुढामगर बताउनुहुन्छ । निसीखोला–६ का वडाध्यक्ष दीपक कुँवर ढोरपाटनमा घुम्न आउने पर्यटकलाई नरसिङकोट लैजान सके यो क्षेत्रको प्रवर्धनसँगै स्थानीयले लाभ लिन सक्ने सम्भावना रहेको बताउनुहुन्छ ।