नवीनराज कुइँकेल
लमजुङ, जेठ १४ गते । लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटे ओडारको बुद्धटोलस्थित एक घरको कोठामा आगलागी हुँदा एक वृद्धाको जलेर मृत्यु भएको छ ।
बुधवार बिहान साढे ३ बजेतिर आगलागी हुँदा कोठामा भाडा गरी बस्ने ७० वर्षीया मिठी थापाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिनुभयो ।
दोर्दी १ घर हुनुभएकी थापा एक्लै कोठा भाडामा लिएर बस्दै आउनुभएको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगलागी भइरहेको कोठाको ढोका फुटाएर आगो नियन्त्रणमा लिइएको थियो।
प्रहरीका अनुसार अचेत अवस्थामा रहनुभएकी उहाँलाई तत्काल उद्धार गरी प्रदेश अस्पताल बेसी सहर पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । उहाँको अनुहार, खुट्टाका भागहरू जलेको अवस्थामा भेटिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रेसम बोहोराले जानकारी दिनुभयो ।