• २४ जेठ २०८२, शनिबार

विपन्न बस्तीमा पोषण कार्यक्रम

blog

लमजुङ समाचारदाता

लमजुङ, जेठ १४ गते । लमजुङका चार वटा पालिकाका विपन्न बस्तीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र, लमजुङको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत विपन्न बस्तीमा पोषण सुरक्षण कार्यक्रम सञ्चालन गरिएको हो । ग्रामीण क्षेत्रमा पोषण सुरक्षाका दृष्टिले संवेदनशील समुदायमा पोषक तत्वको उपभोग बढाउने तथा स्थानीय खाद्यवस्तु उत्पादनमा विविधीकरण गरी खाद्य तथा पोषण सुरक्षामा सुधार ल्याउने अभिप्रायले यो कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले जानकारी दिनुभयो । 

ज्ञान केन्द्रले राइनास नगरपालिका–८ स्थित पिपलटारीको गन्धर्व बस्ती, दोर्दी गाउँपालिका–९ को धैरेनीटोलको दलित समुदाय, दुधपोखरी गाउँपालिका–५ को गौँडा र भिरकुनामा रहेको विपन्न समुदायमा पोषण सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा समेटिएका घरधुरीलाई समेटेर ताजा तरकारी खेती, कुखुरापालन, मौरीपालन जस्ता कार्यक्रम सञ्चालन गरिएको छ । 

समुदायलाई कुल लागतको ९० प्रतिशत अनुदान दिइएको ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रसार अधिकृत सरोज थापाले जानकारी दिनुभयो । यसै गरी मर्स्याङ्दी गाउँपालिका–१, घनपोखरा सेनेगाउँको उन्नति महिला कृषक समूहमा जलवायुमैत्री प्रविधि प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख खतिवडाले बताउनुभयो । सो समूहमा आबद्ध २५ जना महिला कृषकमाझ आयआर्जनका लागि कृषि कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।