खलङ्गा समाचारदाता
जाजरकोट, जेठ १४ गते । जिल्ला सदरमुकाम खलङ्गास्थित पिपलडाँडा बस्ती सुनसान भएको छ । जिल्ला सदरमुकामस्थित भेरी नगरपालिका–३, पिपलडाँडाका घर भूकम्पले क्षतिग्रस्त गरेपछि बस्ती सुनसान बनेको हो ।
जिल्ला प्रशासन कार्यालय नजिकको बस्तीका जनता भूकम्पले क्षतिग्रस्त घर बनाउन नसकेका कारण चहलपहल घटेको छ । पुराना ढुङ्गा, माटोबाट बनेका घर २०८० कात्तिक १७ गते मध्यरातको भूकम्पले क्षतिग्रस्त गरेपछि आर्थिक अवस्था कमजोरीका कारण घर बनाउन नसकेपछि सुनसान बनेको छ । भूकम्पअघि घरभाडामा बसेका सर्वसाधारणलगायत स्थानीयका कारण चहलपहल बढेको थियो । गाउँमा भूकम्पपछि चहलपहल नहुँदा सदरमुकाम भए पनि दुर्गमको जस्तै बनेको छ । सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–४, शान्तिचौतारा, रानागाउँ, बोहरागाउँ, मूलपानीका बस्ती सडक सञ्जालमा जोडिएपछि चहलपहल बढेको छ । सदरमुकामको कुनै समयमा प्रख्यात गाउँ वडा नं. ३ पिपलडाँडा सडक सञ्जालसँग नजोडिएका कारण भूकम्पले भत्किएका घरको माटो, ढुङ्गा व्यवस्थापन गर्न नसकेपछि बाटोसमेत नदेखिने अवस्था छ । सरोकारवाला निकायले ध्यान नदिँदा समस्या ज्युँका त्युँ छ ।
भेरी नगरपालिका–३ की मिरा शाहका अनुसार ग्रामीण सडक नपुगेपछि भत्किएका घरको माटो, ढुङ्गा व्यवस्थापनमा समस्या आएको छ । जता हेर्यो माटो र ढुङ्गोको थुप्रो मात्र छ । अस्थायी टहराको बसाइ छ । हावापानी आएपछि टहरा उडाइदिन्छ कि भन्ने डर हुन्छ । त्रासपूर्ण वातावरणमा रातदिन बिताउनु परेको उहाँको भनाइ छ । भूकम्पले घर भत्किएपछि भाडामा बस्ने जनता सुरक्षित बस्न सो गाउँबाट विस्थापित भएपछि सदरमुकामको बस्ती नै ओझेलमा परेको छ ।
भूकम्प गएको करिब १९ महिना बित्न लागे पनि सरकारले पुनर्निर्माणमा तोकेको रकम दिए घर बनाउने आशामा बसेका सर्वसाधारण लामो समयसम्म रकम नपाउँदा निराश भएका छ । भेरी नगरपालिका–३ का प्रकाश चन्दले भूकम्पले घर भत्किएपछि अस्थायी आवासमा बसेको बताउनुभयो । उहाँका अनुसार दिउँसो टिनको तातो र रातिको चिसोले दिनरात बिताउन गाह्रो भएको छ ।
भेरी नगरपालिका–३, पिपलडाँडाका विजय शाहका अनुसार अस्थायी आवासमा सर्पको त्रासले समेत चिन्तित हुनु परेको छ । सदरमुकामभित्रको बस्ती ओझेलमा परेसँगै सरोकारवाला निकायबाट पुनर्निर्माणका लागि पहल नहुँदा बस्ती सुनसान छ । सो बस्तीमा भूकम्पका कारण ११ भन्दा बढीको मृत्यु भएको थियो ।