गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १३ गते । राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ जेठ १५ गते बिहीबारदेखि सुरु हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा देशभरका कलाकार र विविध कला विधाका चित्र, मूर्ति, जीवन्त कला प्रस्तुतिसहित दुई साता लामो कला प्रदर्शनी गरिने जानकारी दिइएको हो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको प्रवर्धन गर्दै अर्थतन्त्रलाई समेत योगदान दिने कलाकारको यकिन तथ्याङ्क नरहेको भन्दै आगामी दिनमा कलाकारको सर्वेक्षण र प्रोफाइल तयार गर्ने र कला विषयमा अनुसन्धान गरिने बताउनुभयो । प्रतिष्ठानका उपकुलपति तथा प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले प्रदर्शनीलाई महोत्सवका रूपमा मनाउँदै कलाको मौलिकताको जर्गेना, रैथाने कलाको पहिचान गरी मूलधारमा ल्याउने प्रयास गरिने बताउनुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले यस वर्षको प्रदर्शनीमा नेपालका सीमान्तकृत, अल्पसङ्ख्यक, राउटे समुदायदेखि लोपोन्मुख र प्रचलित विविध विधाका कलाकृतिले प्रदर्शनीको रौनक बढाउने बताउनुभयो ।
प्राज्ञ सभा सदस्य तथा प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यले कला सिर्जनामा लागेका कलाकारको सामाजिक रूपान्तरणमा योगदानको भूमिकाको जवाफसमेत खोज्ने प्रयत्नको भावमा प्रदर्शनीको क्युरेटिङ गरिएको बताउनुभयो । प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने मूल नाराका साथ सातै प्रदेशमा पुगेर प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ सम्पन्न गरेको छ ।
राष्ट्रिय ललितकला प्रदर्शनीका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ । अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मानबाट अग्रज कलाकारहरू डा. सीमा शर्मा शाह र मङ्गल लामालाई पुरस्कृत गरिने छ । पुरस्कारको राशि एक लाख ५० हजार रहेको छ । ललितकला प्रवर्धन सम्मान नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरिने छ ।
६० हजार राशिको राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज वज्राचार्यलाई प्रदान गरिने छ । यसै गरी राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकमा कार्यरत शिवा तामाङ र पत्रकार हेमन्त गौतमलाई पुरस्कृत गरिने छ । पुरस्कारको राशि तीस हजार रुपियाँ रहेको छ । सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल (परम्परागत चित्रकला) लाई एक लाख रुपियाँसहित प्रदान गरिने छ ।
यसै गरी विधागततर्फ विभिन्न सर्जकलाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । जस अनुसार राष्ट्रिय ललितकला पुरस्कार, ललितकला नवप्रतिभा पुरस्कार, समसामयिक/परम्परागत चित्रकला, समसामयिक/आधुनिक मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला अन्तर्गत फोटोग्राफी रहेका छन् । यसै गरी प्रादेशिकस्तरमा सात वटै प्रदेशका सर्जकलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ सम्पन्न गर्न सहकार्य गरी महìवपूर्ण योगदान पु¥याउने सङ्घ संस्था र व्यक्तिलाई समेत सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनीबाट छनोट भएका र अप्रतियोगी कलाकृतिसमेत समावेश गरी राष्ट्रिय ललितकला प्रदर्शनीमा ५७१ कलाकारका ६०६ कलाकृति प्रदर्शनीमा राखिने जनाइएको छ । जेठ ३० गतेसम्म चल्ने प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।