रवीन्द्र उप्रेती
बर्दीवास, पुस ११ गते । महोत्तरीको इलाका प्रहरी कार्यालय बर्दिवासले स्थापना भएको करिब चार दशकपछि औपचारिक रूपमा आफ्नै नाममा जग्गा प्राप्त गरेको छ । पञ्चायतकालमै स्थापना भएको यस कार्यालयले लामो प्रयासपछि जग्गा भोगाधिकारको प्रमाण–पत्र पाएको हो ।
बर्दिवास नगरपालिका–३ गौरीडाँडामा रहेको साविक २५ नम्बर बहादुरगञ्ज ९ (ण)अन्तर्गत कित्ता नम्बर १ को एक बिगहा ६ कठ्ठा सात धुर क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा श्रेस्ता कायम गरी इलाका प्रहरी कार्यालय बर्दिवासले प्रयोग गर्ने गरी मालपोत कार्यालय बर्दिवासले प्रमाण–पूर्जा प्रदान गरेको हो ।
यसअघि गृहमन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबिच भएको मन्त्रिस्तरीय बैठकले इलाका प्रहरी कार्यालय बर्दिवासलाई उक्त जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।
सोही निर्णय कार्यान्वयन गर्दै मालपोत कार्यालय बर्दिवासका प्रमुख मालपोत अधिकृत रमेशप्रसाद गौतमले इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी विकाश बमलाई हिजो अपरान्ह जग्गा उपयोगको प्रमाण–पत्र हस्तान्तरण गर्नुभएको हो ।
उक्त जग्गामा २०४२ सालमै इलाका प्रहरी कार्यालय बर्दिवास स्थापना भएको थियो । तत्कालीन प्रहरी महानिरीक्षक दीलबहादुर लामाले उद्घाटन गरेदेखि बर्दीवास इलाका प्रहरीले निरन्तर सेवा दिँदै आए पनि वन कार्यालयको अवरोध तथा जग्गा उपयोगको औपचारिक प्रमाण नहुँदा कार्यालयको संस्थागत विकासमा विभिन्न वाधा अवरोध परेको थियो । जग्गा अभावकै कारण बजेट परिचालनमा समेत समस्या हुँदै आएको थियो ।
डिएसपी विकाश बमका अनुसार जग्गा प्रमाण–पूर्जा नहुँदा कार्यालय भवन, हिरासत कक्ष, ब्यारेक तथा प्रहरी आवासलगायत संरचना निर्माणमा कठिनाइ भइरहेको छ । हाल प्रयोगमा रहेका अधिकांश भवन जीर्ण अवस्थामा छन् भने महिला थुनुवाका लागि हिरासत कक्ष नहुँदा ४२ किलोमिटर टाढा जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालय लैजानुपर्ने बाध्यता छ ।
जग्गा प्राप्तिसँगै अब प्रहरी कार्यालय भवन तथा आवश्यक संरचना निर्माणको बाटो खुलेको डिएसपी बमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जग्गा भोगाधिकार एकल प्रयासको परिणाम होइन, सर्वपक्षीय सहयोगबाट सम्भव भएको सफलता हो । यसले कार्यालय सञ्चालनमा देखिएका असहजता हटने बाटो खोलेको छ ।’’
इलाका प्रहरी कार्यालय बर्दिवासको नाममा जग्गा ल्याउन अग्रणी भूमिका निर्वाह गर्नुभएका स्थानीय समाजसेवी पोषण थापाले २०७५ सालदेखि निरन्तर प्रयास गर्दा बल्ल अहिले सफलता मिलेको बताउनुभयो । उहाँका अनुसार वन विभागबाट पटक पटक फाइल हराउनेलगायत विभिन्न बाधाअड्चनका बीच यो उपलब्धी हासिल भएको हो ।
थापाले भन्नुभयो, ‘‘यो जग्गा प्राप्ति इलाका प्रहरी कार्यालय बर्दिवासका लागि ऐतिहासिक उपलब्धी हो । यसले प्रहरी सेवाको संस्थागत विकास र थप प्रभावकारी सेवा प्रवाहमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।’’