• २२ असार २०८१, शनिबार

प्राकृतिक प्रकोपको उद्धार पूर्वाभ्यास

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ २९ गते । वर्षायाम सुरु भएसँगै बाढीपहिरोबाट हुन सक्ने सम्भावित जनधनको क्षति न्यूनीकरणबारे तीनवटै सुरक्षा निकायले संयुक्त रूपमा पूर्वाभ्यास सम्पन्न गरेका छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले प्रतीकात्मक रूपमा देशभर शनिबार अभ्यास गरिएको जानकारी दिनुभयो । 

काठमाडौँको कीर्तिपुरस्थित टौदहमा शनिबार बिहान नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालले जिल्ला विपत् व्यवस्थापन समितिमार्फत एकसाथ पूर्वतयारी अभ्यास गरेका हुन् । 

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विदुर खड्काले नदी तथा पोखरीमा फसेकालाई गरिने उद्धार, बेपत्ताको खोजीबारे पूर्वतयारीलगायत अभ्यास गरिएको बताउनुभयो । 

बाढीपहिरोमा फसेका व्यक्तिको उद्धारपछि उपचारसम्मको तयारी कसरी गर्ने भन्नेबारे समेत पूर्वतयारी अभ्यास गरिएको थियो । विपत् व्यवस्थापनमा खटिएका कतिपय सुरक्षाकर्मी आफँै फस्ने र दुर्घटनामा समेत पर्ने गरेका छन् । तालिममा त्यसबाट कसरी जोगिने तथा फसेमा कसरी उद्धार गर्ने भन्नेबारे पूर्वाभ्यास गरिएको थियो । 

वर्षायाम सुरु भएसँगै बाढीपहिरोबाट हुन सक्ने क्षति तथा सम्भावित विपत्का क्षेत्र पहिचान गरी खोलाकिनार तथा सम्भावित पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।  यस्तै जिल्ला सुरक्षा समितिको संयोजनमा विपत्बारे जानकारी तथा पूर्वसचेतना अभिवृद्धि गर्ने कार्य भइरहेको छ ।

नेपालमा प्रत्येक वर्षायाममा बाढीपहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति हुने गरेको छ । यस वर्षको मनसुन र वर्षाका कारण करिब २० लाख नागरिक प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ ।