• २६ जेठ २०८२, सोमबार

मधुपर्कको वार्षिकोत्सवमा तीन साहित्यकार सम्मानित हुने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १२ गते । गोरखापत्र संस्थानद्वारा प्रकाशित हुने साहित्यिक मासिक पत्रिका मधुपर्कको वार्षिकोत्सवको अवसरमा तीन जना वरिष्ठ साहित्यकारहरु सम्मानित हुनुहुने भएको छ ।

वार्षिकोत्सवको अवसरमा जेठ ३० गते नेपाली साहित्यका विशिष्ट साधकहरूमध्येबाट मधुपर्क सम्मान, २०८२ (पद्यतर्फ) मधुपर्क सम्मान २०८२ (गद्य) र मधुपर्क सम्मान, २०८२ (खुला प्रतिभा) गरी तीन जनालाई सम्मान प्रदान गर्न लागिएको हो ।

मधुपर्कका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेका अनुसार वरिष्ठ साहित्यकारहरूको नाम चयन गर्न संस्थानको जेठ ६ गतेको निर्णयअनुसार प्रा. कृष्ण गौतमको संयोजकत्वमा त्रिभुवनचन्द्र वाग्ले सदस्य र लक्ष्मी खतिवडा सदस्यसचिव रहनेगरी उपसमिति गठन गरिएको थियो । 

समितिको सिफारिसअनुसार मधुपर्क सम्मान, २०८२  (पद्यतर्फ) कवि ज्ञान उदास सम्मानित हुनुहुनेछ । त्यस्तै, मधुपर्क सम्मान, २०८२  (गद्यतर्फ)  कथाकार ध्रुव सापकोटा र मधुपर्क सम्मान, २०८२  (खुला प्रतिभातर्फ)  कथाकार पद्मावती सिंहलाई सम्मानका लागि सिफारिस गरिएको छ ।  

कवि ज्ञान उदास वि.सं. २००० मङ्सिर २४ गते चैनपुर संखुवासभामा जन्मनुभएको हो । उहाँ अनवरत रुपमा साहित्यिक क्षेत्रको सेवामा समर्पित रहनुभएको छ । पिण्डेश्वर संस्कृत पाठशाला धरानको मुखपत्र ‘नेपाल’ मा २०१८ सालमा पहिलो कविता ‘आमासित’ प्रकाशन गर्नुभएका कवि उदासको मधुपर्कमा पहिलो कविता २०२७ मा प्रकाशित भएको थियो ।

कुनबेस (कविता सङ्ग्रह २०१९), हामी बस पर्खिरहेका छौं बस् (कविता संग्रह २०२८), मनका कुराहरू (गीत, गजल संग्रह २०५८), ज्ञान उदासका कविता (कविता संग्रह २०७१) मेरो पुरानो कविता (कविता संग्रह २०७३) यस्तो लाग्छ (मुक्तक सङ्ग्रह २०७४), खाली सारङ्गी( हाइकु संग्रह २०७४) प्रकाशित छन् ।

त्यसैगरी उहाँले हस्ताक्षर (नेपाली स्रष्टाहरूको विचार २०४९) नानीका कथाको किताब (बालकथा २०६४, दोस्रो संस्करण २०७४) स्रष्टा हस्ताक्षर (नेपालीभाषी साहित्यकारहरूको हस्ताक्षर २०७४) पहाड साहित्यिक (२०२८) ‘नानी’ बालपत्रिका २०५५ देखि २०५९ सम्म) र नयाँ खबरकागज साप्ताहिक २०३९ सम्पादन गरेको उहाँसँग अनुभव छ । 

सोहीअनुसार मधुपर्क सम्मान, २०८२  (गद्यतर्फ) सम्मानित हुनुहुने कथाकार ध्रुव सापकोटाको जन्म वि.सं. २००९ साउन ८ गते काभ्रे कुशादेवीमा भएको थियो । झण्डै ६ दशकदेखि नेपाली साहित्यिक क्षेत्रमा क्रियाशील सापकोटाको दर्जन बढी साहित्यिक कृति प्रकाशित छन् । 

मधुपर्कमा पहिलो पटक २०२७ मा कथा छपाएका सापकोटाको प्रतिव्यूहचक्र (२०३०) उच्चारण (२०३५) नेपथ्य (२०४८) हामी हाँसीरहेका छौँ (२०५३), अन्धकार (२०६०) बितेका (२०६५) विचारका लाश (२०७५) कथा सङ्ग्रह प्रकाशित हुन् । उहाँका विखण्डित (२०५५) अकल्पनीय (२०६६) उपन्यास प्रकाशित छन् । उहाँको संयुक्त लेखनमा आकाश विभाजित छ (३०३०), अवतार विघटन (३०३३) देहमुक्त २०४६) ज्यागा (२०६०) पनि प्रकाशित छन् ।यसैगरी आकाश विभाजित छ र अवतार विघटनजस्ता संयुक्त लेखनका उपन्यास पनि प्रकाशित छन् । 

डा. धु्रवचन्द्र गौतम र धु्रव सापकोटाको संयुक्त लेखनमा प्रकाशित ज्यागा उपन्यास नेपालमा रहेका भुटानी शरणार्थीका व्यथालाई मुख्य विषय बनाएर प्रकाशित छ । 

त्यस्तै, मधुपर्क सम्मान, २०८२  (खुला प्रतिभातर्फ) सम्मानित हुनुहुने कथाकार पद्मावती सिंह वि.सं. २००५ वैशाख ९ गते ओमबहाल काठमाडौमा जन्मनुभएको हो । सिंहको पहिलो प्रकाशित कथा २०२२ पथ्थरको हृदय हो भने मधुपर्कमा २०३४ बाट रचना छापिएको हो । 

सिंहका कथादी (२०३८) कथासङ्ग्रह, कथायन (२०३९) कथासङ्ग्रह, कथाकार (२०४४) कथा सङ्ग्रह,  मौन सम्पति (२०६५) कथासङ्ग्रह, पद्मावतीका कथा सङ्ग्रह २०५७ समय दंश कथासङ्ग्रह (२०६७) लगायत आठ कथा सङ्ग्रह प्रकाशित छन् । 

सिंहका तीन उपन्यास समानान्तर आकाश, निःशब्द यात्रा र मौन अक्षर प्रकाशित छन् । रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण सिंहका दुई गीति एल्वम पनि प्रकाशित छन् । सम्मानित हुनेलाई जनही ५० हजार रुपियाँ नगद र सम्मानपत्र रहेको छ ।