• ११ असोज २०८१, शुक्रबार

आँपमा रोग देखिएपछि कृषक चिन्तित

blog

कल्याणपुर समाचारदाता

कल्याणपुर, जेठ २९ गते । सप्तरी क्षेत्रमा रहेका आँप अज्ञात रोगको प्रकोपका कारण कुहिन थालेपछि कृषक चिन्तित भएका छन् ।  कल्याणपुर, कुसहा, सीतापुर, रूपनगर, रूपनी, बर्साइन, कठौनालगायत सप्तरीका सीमावर्ती गाउँमा फलेका आँपमा यस्तो समस्या देखिएको छ ।

बढीजसो मालदह र बम्बई जातका आँपमा कुहिने समस्या देखिएको कुसहा श्रीपुरका आँप कृषक शम्भु चौधरीले बताउनुभयो । यसबारे कृषि ज्ञान केन्द्र कार्यालय सप्तरीका प्राविधिकले बोरनको कमी तथा फ्रुट फ्लाई नामक कीराका कारण यस्तो समस्या देखिएको बताएका छन ।    

विगतमा आएको आँधीहुरी, असिनाका कारण आँप खेतीमा ठूलो क्षति पुगेको थियो । बचेखुचेका आँपमा पनि रोगको प्रकोप देखिन थालेपछि कृषक चिन्तित भएका हुन् । १५ वटा आँपको बगैँचा ठेक्का लिएका व्यवसायी मो. कमलले यस वर्ष आँप धैरै फले पनि कीराको प्रकोपले घाटा लाग्ने बताउनुभयो । आफूहरू मञ्जर (फूल)कै बेला ठेक्का लिएको र पछि राम्रो फल्यो पनि तर अहिले पाक्ने बेलामा यस्तो समस्याले धेरै नै नोक्सान भएको बताउनुभयो ।  

कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार असिनाका कारण जिल्लाका विभिन्न क्षेत्रमा सात सय हेक्टरमा लगाइएको आँप बालीमा क्षति पुगेको र असिना पानीले सात करोड ३६ लाख मूल्य बराबरको क्षति भएको बताएका छन् ।

सप्तरीको आँप उत्पादन क्षेत्र सात हजार हेक्टरमध्ये पाँच हजार हेक्टरमा आँप फलेको र करिब ४० हजार मेट्रिक टन आँप उत्पादनको अनुमान गरिए पनि असिना पानी र हाल आएर देखिएको यस्तो रोगले अनुमानअनुसार केही कम उत्पादन हुने उहाँले बताउनुभयो ।