• ११ जेठ २०८२, आइतबार

‘गर्भावस्थामा थाइराइडको औषधी खाए बच्चा फुर्तिला’

blog

काठमाडौँ, जेठ ११ गते । नेपालमा पछिल्लो समयमा थाइराइडका बिरामी बढ्दै गएका छन् । एकिन तथ्याङ्क नभए पनि जनसङ्ख्याको १० देखि १५ प्रतिशतमा थाइराइडको समस्या भएको अनुमान गरिएको छ । पछिल्लो सयम अत्याधिक नुन, तनाव, असामान्य जीवनशैलीको कारणले गर्दा थाइराइडको समस्या बढ्दै गएको चिकित्सक बताउँछन् ।

थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा.सन्तोष शाक्यले थाइराइडको समस्या पुरुषमा भन्दा महिलामा बढी देखिने बताउनुहुन्छ । नेपालमा १० जनामा थाइराइड देखिएमा नौ जना महिला र एक जना पुरुष हुने डा.शाक्यको भनाइ छ ।

उहाँका अनुसार यो समस्या नेपालका १८ देखि ३८ वर्षका कामकाजी महिलामा बढी छ । उहाँ भन्नुहुन्छ, “महिलामा महिनावारी, गर्भावस्थामा, प्रसूतिको समयमा हर्मोन उतार चडाव हुने गर्छ । पुरुषको तुलनमा महिलामा तनाव बढी हुने हुँदा जीवनशैलीले हर्मोनलाई असर पुर्‍याउने गर्छ ।”

थाइराइड भनेको के हो ?
चिकित्सकका अनुसार थाइराइड ग्रन्थी घाँटीको अगाडि भागमा हुन्छ । यो ग्रन्थी पुतलीको आकारको हुने चिकित्सक बताउँछन् । यो ग्रन्थीले थाइरोक्सिन र ट्रायोडोथाइरोनिन नामक हर्मोन उत्पादन गर्छ । यो ग्रन्थीले हर्मोन उत्पादन गरी टाउँकोदेखि खुट्टासम्म पुर्‍याइ शरीरको मेटाबोलिज्म नियन्त्रण गर्ने काम गर्छ । 

थाइराइड हर्मोन उत्पादनको हिसाबले हाइपो थाइराइडिज्म र हाइपर थाइराइडिज्म भनेर दुई भागमा विभाजन गरिएको डा.शाक्य बताउनुहुन्छ । थाइरोइड ग्रन्थीले शरीरका लागि कम हर्मोन उत्पादन गर्ने प्रक्रियालाई ‘हाइपो-थाइराइडिज्म’ भनिन्छ । थाइराइड ग्रन्थीले शरीरलाई चाहिनेभन्दा बढी हर्मोन उत्पादन गर्ने प्रक्रियालाई ‘हाइपर थाइराइडिज्म’ भनिन्छ ।

थाइराइड हुने कारण 
तनाव र खानपान, आयोडिनको कमी वा बढीले गर्दा थाइराइड हुने चिकित्सक बताउँछन् । प्रतिरोधी क्षमता (अटोइम्युन) मा गडबढ हुँदा, गर्भावस्थामा, वंशाणुगत कारणले गर्दा थाइराइड घटबढ हुने डा.सन्तोष शाक्यको भनाइ छ ।

ग्रन्थीको शल्यक्रिया गरेको, खराब जीवनशैली, मोटोपन, तनाव, टाउँको र घाँटीको क्यान्सर भएर रेडियोथेरापी गरेको, आयोडिन बढी भएको औषधीको सेवन गर्ने बिरामी, हर्मोनसम्बन्धी औषधी खाने मानिसमा थाइराइड हुने जोखिम बढी हुने डा.शाक्यको भनाइ छ । 

थाइराइडका लक्षण 
चिकित्सकका अनुसार हाइपो थाइराइडिज्म र हाइपर थाइराइडिज्मका फरक फरक लक्षण देखिने गर्छन् । लक्षणका आधारमा थाइराइड भए नभएको पत्ता लगाउन नसकिने चिकित्सक बताउँछन् । थाइराइडका लक्षण अन्य रोगसँग मिल्दा जुल्दा हुने भएकाले रोग ढिला गरी पत्ता लाग्ने उहाँ बताउनुहुन्छ ।

वरिष्ठ फिजिसियन तथा हर्मोन रोग विशेषज्ञ डा.भोजराज अघिकारीका अनुसार थाइराइडले सबै अङ्गमा असर पुर्‍याउने भए पनि ५० प्रतिशत बिरामीको मृत्यु रोग नै पत्ता नलाग्दै हुने गर्छ । उहाँ भन्नुहुन्छ, “चार पाँच वर्ष अगाडिसम्म शरीर सुनिएमा मुटुको वा मिर्गौला रोगले, शरीर गल्यो भने मानसिक रूपमा कमजोर भएमा मानसिक समस्याले महिनावारीमा अनिमियत भएमा गाइनोको समस्या भनेर उपचार गराउँदा धेरै मानिसको थाइराइड पहिचान नहुँदै मृत्यु वरण गर्न बाध्य थिए ।”

अधिकारीका अनुसार हाइपो थाइराइडिज्म हुँदा थकाइ लाग्ने, शरीर थाक्ने, गल्ने, आलास्य हुने, हातगोडा सुनिने, कपाल झर्ने, छाला सुख्खा हुने, खर्सो हुने, मोटाउँदै जाने, महिनावारी गडबढ हुने, निन्द्रा बढी लाग्ने, बाझोपनको समस्या उत्पन्न हुने, कब्जियत हुने जस्ता लक्षण देखिने गर्छ ।

हाइपर थाइराइडिज्ममा बिरामी दुब्लाउँदै जाने, पसिना बढी आउने, डाइरिया हुने, महिनावारी गडबढ हुने, हात काप्ने, मुटुको धड्क छिटो छिटो बढ्ने, निन्द्रा नलाग्ने, चिडचिडापन हुने, जस्ता लक्षण देखिने डा.अधिकारी बताउनुहुन्छ । 

कसरी पत्ता लगाउने 
रगतको जाँच गरेर हर्मोनको मात्र जाँच गरेर थाइराइड कम बढी भएको पत्ता लगाउन सकिन्छ । अल्ट्रासाउन्ड, थाइराइड स्क्यान, निडल वायप्सी गरेर थाइराइडको पहिचान गर्न सकिन्छ । प्रतिरोधात्मक क्षमता कम भएर हो की अन्य कारणले थाइराइड भएको भनेर पत्ता लगाउन एन्टिवडि टेस्ट गरेर हेर्नुपर्छ ।

थाइराइडले कुन कुन अङ्गमा असर गर्छ 
थाइराइडले शरीरका सम्पूर्ण भागमा असर पुर्‍याउने चिकित्सक बताउछन् । उच्चरक्तचाप, मोटोपन, मधुमेह जस्ता दीर्घ रोग भएमा थाइराइडको जोखिम बढी हुने हुँदा वर्षमा एक पटक थाइराइडको अवस्था जाँच गर्न थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा.अमित शाक्यको सुझाव छ ।

थाइरायडमा नियन्त्रणमा राखिएन भने बच्चा खेर जाने, सुस्त बच्चा जन्मिने सक्ने । त्यो बाहेक मस्तिष्कको कार्यक्षेत्रमा घट्ने, तौल घट्ने, दैनिक जीवनमा असर गर्ने जस्ता गम्भीर स्वास्थ्य समस्या देखिने डा.अमित शाक्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “शारीरिक, मानसिक विकासमा असर गर्ने, मानसिक समस्या नित्याउने, उच्च रक्तचाप बढाउने, घटाउने, पल्स घटाउने बढाउने जस्ता स्वास्थ्य समस्या निम्त्याउने गर्छ ।” 

के थाइराइडले बाँझोपन बढाउँछ 
थाइराइडको उपचार गरिएन भने बाझोपन ल्याउन सक्ने डा.अमित शाक्य बताउनुहुन्छ । चिकित्सकको सल्लाह अनुसार औषधी नियमित खाए थाइराइड नियन्त्रण गर्न सकिने डा.शाक्य बताउनुहुन्छ । उहाँका अनुसार यसको औषधी गर्भावस्थामा पनि खाना मिल्छ । गर्भावस्थामा भन्दा अगाडि थाइराइड पत्ता लागेमा अघिपछिको भन्दा बढी डोज आवश्यक पर्ने उहाँको भनाइ छ । यदि गर्भावस्थामा थाइराइडको औषधी खाएमा बच्चा फुर्तिलो र चनाखो जन्मने डा.शाक्य बताउनुहुन्छ । 

कस्तो खानेकुरा खाने ?
थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा.सन्तोष शाक्य खानाले थाइराइड हर्मोनलाई असर नगर्ने बताउनुहुन्छ । काउली खाएर थाइराइड बढ्छ भन्नु भ्रम भएको उहाँले प्रष्ट पर्नुभयो ।

साउथ एशियामा नुनको प्रयोगले थाइराइडको समस्या बढेको विभिन्न अध्ययनले देखाएको उहाँले बताउनुभयो । उहाँका अनुसार एउटा मानिसलाई दैनिक पाँच ग्राम नुन आवश्यक पर्छ, तर नेपालमा १० वा सोभन्दा बढी ग्राम नुनु प्रयोग गरेको अध्ययनले देखाएको छ । त्यही कारणले गर्दा पनि हर्मोनको समस्या बढेको हुन सक्छ । डा.भोजराज अधिकारी आयोडिनको कमीले पहिले गलगाड आउने गरेको भए पनि अहिले आयोडिनको मात्रा बढी लिने हुँदा गलगाडको समस्या हराउँदै गएको बताउनुभयो ।

कसरी बच्ने 
जीवनशैली परिवर्तन गर्ने, मोटोपन कम गर्ने, सन्तुलित भोजन गर्ने, तनाव कम लिँदा धेरै हदसम्म थाइराइडको समस्यालाई नियन्त्रण गर्न सकिने डा.शाक्य बताउनुहुन्छ । गर्भवती, ३० वर्षभन्दा माथिका सबैलाई वर्षमा एक पटक थाइराइडको अवस्था जाँच गर्न चिकित्सकको सुझाव छ ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।