• १३ असोज २०८१, आइतबार

सुदूरपश्चिममा बजेटको आकार बढ्ने

blog

अविनाश चौधरी 

धनगढी, जेठ २८ गते। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट चालू आर्थिक वर्षको तुलनामा आकार बढाएर ल्याउने तयारी गरिरहेको छ। 

प्रदेश सरकारलाई प्राप्त हुने अनुदानमा वृद्धि भएकाले आकार बढाएर बजेट ल्याउने प्रदेश सरकारले तयारी थालेको हो। आगामी आर्थिक वर्षको बजेट ३३ देखि ३५ अर्बको बीचमा रहने आर्थिक मामिला तथा योजनान्त्री प्रकाशबहादुर रावलले जानकारी दिनुभयो।

‘प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटको आकार पहिलेको बजेटकोभन्दा केही ठूलो रहन्छ’, रावलले भन्नुभयो। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो।

मन्त्री रावलका अनुसार कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य बजेटको मुख्य प्राथमिकतामा परेको छ। यसैगरी, प्राकृतिक विपद्मा परेकालाई राहत दिने खालको कार्यक्रम पनि प्राथमिकतासाथ बजेटमा समेटिने उहाँले बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो जस्ता प्राकृतिक विपद्ले बढी मान्छे प्रभावित हुँदै आएका छन्। 

सरकारले आगामी आर्थिक वर्षको बजेटका आधारको रुपमा प्रदेश सभामा विनियोजन विधेयक र नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ। त्यही विनियोजन विधेयक र नीति तथा कार्यक्रमलाई केन्द्र बनाएर बजेट आउने मन्त्रालयका प्रवक्तासमेत रहनु भएका उपसचिव तुल्सीप्रसाद भट्टराईले बताउनुभयो। 

‘विनियोजन विधियेकको उद्देश्य, सिद्धान्त, प्राथमिकता र नीति तथा कार्यक्रमको पेरिफेरिमा रहेर आगामी आर्थिक वर्षको बजेट आउने हो’, उहाँले भन्नुभयो। ‘पञ्चवर्षीय योजनाको आधारपत्रका आधारमा योजनालाई बजेट बाँडफाँट हुनेछ।’