• १० जेठ २०८२, शनिबार

पशु कल्याण ऐनको आवश्यकतामा जोड

blog

गोरखापत्र समाचारदाता

ललितपुर, जेठ १० गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पशु कल्याण ऐन ल्याउन सरकारले काम गरिरहेको बताउनुभएको छ । त्यससम्बन्धी विधेयकको मसौदा कानुन मन्त्रालयमा रहेको छ । मन्त्री अधिकारीले आगामी दुई महिनाभित्रमा ऐन ल्याउने गरी सरकारले काम गरेको बताउनुभयो । उहाँले सरोकारवालासँग छलफल गरेर दुई/तीन महिनाभित्र ऐन ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

नेपाल फार्मस एडभाइजरी काउन्सिल र स्नेहाज केयरले आयोजना गरेको ‘नेपालमा पशु कल्याणको वर्तमान अवस्था तथा पशु कल्याणको आवश्यकता र महत्व’ विषयक अन्तर्क्रियामा उहाँले दुई महिनाभित्र ऐन जारी गरिने तयारी रहेको बताउनुभयो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य बिजुला रायमाझीले पशु कल्याण ऐनको आवश्यकता औँल्याउँदै अहिलेसम्म भएका कानुनको अक्षरशः कार्यान्वयन गर्न सके पनि समस्या धेरै समाधान हुने बताउनुभयो ।

पशु कल्याणको विषय निकै महत्वपूर्ण रहेकाले सबै प्राणीको बाँच्ने अधिकारलाई सुनिश्चित गर्ने गरी समितिमा दफावार छलफल गरिने र त्यसमा आफूले भरपुर प्रयत्न गर्ने बताउनुभयो ।कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकै सदस्य रञ्जिता श्रेष्ठले जनावरका लागि बोलिदिने कोही नभएकाले पशु कल्याण ऐन निर्माणमा आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका अध्यक्ष एवं पूर्वसचिव डा. योगेन्द्रकुमार कार्कीले नेपाल पशु कल्याणका क्षेत्रमा विश्वका अन्य देशभन्दा दुई सय वर्षपछाडि रहेको र छिमेकी भारतसमेत सन् १९६० मै पशु कल्याण ऐन जारी गरी सन् १९६२ मा शक्तिशाली पशु कल्याण बोर्ड नै स्थापना भएको जानकारी दिंदै नेपालले पनि त्यसबाट धेरै सिक्नुपर्ने बताउनुभयो ।  ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सङ्घीय पशु कल्याण ऐन जारी भएपछिको लगत्तैको हिउँदे वा बर्खे अधिवेशनबाट महानगरले पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठ, स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठलगायतले बोल्नुभएको थियो ।