• ११ माघ २०८१, शुक्रबार

पाँच बर्षमा एघार वटा झोलुङ्गे पुल निर्माण

blog

बेलिना थापा

लमजुङ, जेठ २८ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पाँच वर्षको अवधिमा एघार वटा झोलुङ्गे पुल निर्माण गरेको छ । गाउँपालिकाले नागरिकको आवश्यकताअनुसार झोलुङ्गे पुल निर्माण गरेको हो । 

नागरिकलाई आवत जावतमा सहज बनाउन पुल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँका अनुसार खोलानाला, खोल्साहरु रहेको ठाउँमा नागरिकलाई आउजाउ गर्न समस्या पर्ने भएकाले झोलुङ्गे पुल बनाइएको छ । बर्खाको समयमा खोलानाला बढ्दा पार गर्न समस्या हुने भएकाले पुलको आवश्यकता रहेको र सोही अनुसार बजेट व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।  

गाउँपालिकाका अनुसार वडा ३ मा खुदीबजार झोलुङ्गे पुल निर्माण भएको छ । वडा १ मा पोजे झोलुङ्गे पुल, वडा १ मा करे झोलुङ्गे पुल, वडा ५ मा रादीखोला झोलुङ्गे पुल, वडा  ७ मा छिनखोला झोलुङ्गे पुल निर्माण गरिएको छ । 

त्यस्तै, वडा २ मा खिउरी झोलुङ्गे पुल, वडा ४ मा घोप्टे कालाघिरिङ झोलुङ्गे पुल निर्माण भएको छ । वडा ३ र ८ जोड्न आम्बोटे  झोलुङ्गे पुल, वडा ३ र ९ जोड्न खुदीखोला झोलुङ्गे पुल, वडा ३ र ६ को मर्स्याङ्दी झोलुङ्गे पुल, वडा ७ मा घट्टेखोला झोलुङ्गे पुल निर्माण गरिएको छ ।  

नागरिकको आवश्यकता बुझेर नागरिकको मागअनुसार झोलुङ्गे पुल निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताउनुभयो । झोलुङ्गे पुल अभावका कारण आउजाउ गर्न समस्या भएका नागरिकलाई लक्षित गरी पुल निर्माण गरिएको बताउनुभयो । वडा ८ का अध्यक्ष धनसिंह तामाङले झोलुङ्गे पुल बनेपछि नागरिकलाई सहज भएको बताउनुभयो । 

‘बर्खा लाग्नेबित्तिकै खोला कसरी तर्ने भन्ने चिन्ता हुन्थ्यो । खोला बढेर बगाउने डर हुन्थ्यो’ उहाँले भन्नुभयो, ‘अहिले पुल बनेको छ । नागरिकलाई खोला तर्न पर्दैन । सहजै पुल तरेर वारपार गर्न पाएका छन् ।’ विद्यालय जान, वन जंगलमा घाँस दाउरा गर्न जान, छिमेकी गाउँ पुग्न सहज भएको उहाँको भनाइ छ ।