काठमाडौँ, जेठ ९ गते । आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा आएको छ । मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने भन्दै काठमाडौँ उपत्यकाका सडक किनारामा ‘फायर हाइड्रेन्ट’ ठड्याइएको थियो । ठड्याइएको पाँच वर्षपछि ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा आएको हो । ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा आएसँगै आगलागीका घटना भएमा दमकललाई पानी खोज्दै पानी भण्डारण केन्द्र र खोलातिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक टीकाबहादुर चौधरीले राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई ध्यान दिँदै पानी वितरण सञ्जालको निर्माणसँगै जडान गरिएको ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँको चक्रपथभित्र रहेका ‘फायर हाइड्रेन्ट’ हरूको सफल परीक्षण गरिएको छ । तिनीहरू दमकललाई पानी दिन तयारी अवस्थामा छन् । जुन बेला पनि सेवा लिन सकिन्छ ।” उहाँका अनुसार चक्रपथभित्र ३४८ वटा ‘फायर हाइड्रेन्ट’ जडान गरिएको छ । यी सबै ‘फायर हाइड्रेन्ट’ अहिले प्रयोग गर्न योग्य छन् ।
निर्देशक चौधरीले भन्नुभयो, “अहिले मेलम्ची खानेपानी आयोजनाबाट हरेक ठाउँमा चौबिसै घण्टा पानी वितरण नभई तालिका अनुसार वितरण भइरहेको हुनाले दमकललाई पानी चाहिएको क्षेत्र र समयमा यदि पानी वितरणको तालिका परेको छैन भने त्यस्तो अवस्थामा दमकलले महाराजगन्ज पानीपोखरीस्थित पानी वितरण नियन्त्रण कक्षमा फोन गर्नु पर्छ । फोन गरेको दस मिनेटभित्र सम्बन्धित ठाउँको ‘फायर हाइड्रेन्ट’ मा पानी प्रवाह भइहाल्छ । त्यहाँबाट दमकलले पानी लिएर आगलागीलगायतका विपत्मा काम गर्न सक्छ ।”
मेलम्चीको पानी चौबिसै घण्टा वितरण सुरु भएमा जुनसुकै समयमा ‘फायर हाइड्रेन्ट’ बाट पानी भर्न सकिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार काठमाडौँमा मेलम्चीको ५१ करोड लिटर पानी वितरण सुरु भइसकेपछि ‘फायर हाइड्रेन्ट’ हरूमा चौबिसै घण्टा पानी उपलब्ध हुने छ । अहिले मेलम्चीको १७ करोड लिटर पानी मात्र वितरण हुँदै आएको छ ।
‘फायर हाइड्रेन्ट’ अन्तर्राष्ट्रिय रूपमै प्रभावकारी
सहरी खानेपानी तथा सरसफाइ आयोजनाका निर्देशक राजेन्द्रप्रसाद सापकोटाले सहरी क्षेत्रमा आगलागीको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमा नै प्रभावकारी रहेको बताउनुभयो । तापमानमा भइरहेको वृद्धि र आगलागीको जोखिम बढ्दै गइरहेको अहिलेको अवस्थामा काठमाडौँ जस्तो घाना बस्ती रहेको सहरमा ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा आउनु खुसीको कुरा भएको उहाँको भनाइ छ ।
‘फायर हाइड्रेन्ट’ लाई प्रयोगमा ल्याउनका लागि खानेपानी पाइपलाइनसँग जडान गर्नुका साथै मुखसमेत बन्द राख्नु पर्छ । आगलागी हुँदा दमकलले ‘फायर हाइड्रेन्ट’ मा पाइप जडान गरी पानी भर्न पाउँछ । आपत्कालीन अवस्थामा पानी भर्नका लागि ‘फायर हाइड्रेन्ट’ लाई ‘प्रेसरराइज’ गरी तयारी अवस्थामा राख्नु पर्छ । प्रयोग गर्न मिल्ने भएपछि आगलागीका समयमा दमकललाई पानी खोज्ने समस्या नरहने निर्देशक सापकोटाको भनाइ छ ।
पालिकाहरूलाई प्रशिक्षण
यसैबिच ‘फायर हाइड्रेन्ट’ प्रयोगबारे काठमाडौँ र ललितपुर महानगरपालिकालाई प्रशिक्षण दिइएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले बिहीबार पालिकाहरूलाई ‘फायर हाइड्रेन्ट’ प्रयोगबारे प्रशिक्षण दिइएको निर्देशनालयका निर्देशक चौधरीले जानकारी दिनुभयो ।