• १६ असार २०८१, आइतबार

माग सम्बोधन गर्ने आश्वासन

blog

नवराज कट्टेल

विराटनगर, जेठ २८ गते । अर्थमन्त्री जनार्दन शर्माले पूर्वका उद्योगीले उठाउँदै आएको माग असार १ गतेपछि सम्बोधन गर्ने बताउनुभएको छ । सेनेटरी प्याड, वनस्पति तेल र एमएस वायर रडमा आधारित उद्योगका समस्या समाधान गरिने बताउनुभएको हो । 

विराटनगरबाट आफ्ना माग लिएर काठमाडौँ पुगेको उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ र नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँग शुक्रबार मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री शर्माले उक्त आश्वासन दिनुभएको हो । 

‘हाम्रा मागमा अर्थमन्त्रीज्यू सकारात्मक देखिनुभएको छ । असार १ गतेपछि हाम्रा मागको विषयमा सम्बोधन गर्ने वाचा दिनुभएको छ,” अर्थमन्त्रीसँगको भेटपछि मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले टेलिफोन सम्पर्कमा भन्नुभयो । रिजालले अर्थमन्त्रीलाई भेटेपछि एमएस वायर रड, सेनेटरी प्याड र वनस्पति घिउतेलमा आधारित उद्योगलाई बजेटले पारेको असर सच्चिनेमा आफूहरू विश्वस्त भएको बताउनुभयो । 

प्रिमियर स्टिल एन्ड वायर उद्योगका सञ्चालक पवनकुमार शारडाले अर्थमन्त्रीले व्यवसायीलाई अप्ठ्यारो पार्ने उद्देश्य नरहेकाले बजेटमा देखिएका त्रुटिलाई कानुनी प्रक्रियामार्फत नै सच्याउने बताउनुभएको जानकारी दिनुभयो । उक्त भेटमा स्वदेशी उद्योग प्रवद्र्धनमा सरकारले कुनै कमी हुन नदिने बताउनुभएको उद्योगी शारडाले बताउनुभयो । 

“बजेट निर्माण गर्ने क्रममा भएका त्रुटिलाई सच्याउँदै सरकार र उद्योगीको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता हामीले पाएका छौँ । कच्चा पदार्थ आयातमा आधारित उद्योगलाई धराशायी बनाउने मनसाय सरकारको रहन सक्दैन भन्ने उहाँको विचार थियो,” उद्योगी शारडाले भन्नुभयो । 

उद्योग सङ्ग ठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले जीआई वायरको निर्यात भएपछि त्यसको कच्चा पदार्थ एमएस वायरमा लाग्ने अन्तःशुल्कको रकम रिफन्ड गर्ने विषयमा समेत अर्थमन्त्री सकारात्मक देखिनुभएको जानकारी दिनुभयो । 

वार्तामा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालसमेतको उपस्थिति रहेको थियो । पूर्वबाट उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरे, शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, हुलास वायरका सञ्चालक युक्ति गोल्छासहितको टोली अर्थ मन्त्रालय पुगेको थियो ।