• १६ असार २०८१, आइतबार

जानकारी लिएर मात्रै साउदी जान आग्रह

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ २८ गते  । साउदी अरबमा रहेको नेपाली दूतावासले साउदी आउनुपूर्व त्यहाँको सामान्य नीति नियम, भाषा, धर्मसंस्कृति र हावापानीबारेमा बुझेर आउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । साउदीको बारेमा सामान्य जानकारीबिना आउँदा ठूलो सङ्ख्याका नेपाली श्रमिक समस्या परेको भन्दै दूतावासले सूचनामार्फत यस्तो आग्रह गरेको हो । 

दूतावासका अनुसार साउदी आएका श्रमिकले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र एजेन्टले जाने बेलामा भनेअनुरूपको काम र तलब नपाएको, लाखौँ रकम तिरेर आएको तर आउनासाथ आफूले दुःख पाएको भन्नेजस्ता गुनासो दिनहुँ बढेका छन् । समस्यामा पर्नेमा आफ्नै चिनजानकै मानिसमार्फत साउदी आएकाहरू धेरै रहेको दूतावासले जनाएको छ । 

नेपाल सरकारले साउदी जाने श्रमिकको विभिन्न पदअनुसारको पारिश्रमिक तोकेको छ । जसअनुसार अदक्ष श्रमिकका लागि न्यूनतम मासिक साउदीको एक हजार रियाल र खानाको सुविधाबापत तीन रियाल हुनुपर्नेछ ।