• १८ जेठ २०८२, आइतबार

भूमि विधेयक घरजग्गा व्यवसायीलाई महत्त्व दिनेगरी आयोः सांसद पाण्डे

blog

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ ६ गते । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले दुई तिहाइको सरकारले क्रान्तिकारी भूमि सुधारको कार्यक्रम ल्याउनसक्ने भए पनि त्यसो हुन नसकेको बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधिसभामा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उहाँले भूमी विधेयक सुकुम्वासी, भूमीहिन र अव्यवस्थित बसोवासीको मायाले नभई अपार्टमेन्ट बनाउनेहरूको मायाले आएको आरोप लगाउनुभएको हो । उहाँले व्यवस्था परिवर्तनको ३४ वर्ष हुँदा पनि भूमि सुधारका बारेमा जति कुरा गरे पनि कार्यान्वयनमा ल्याउन नसकेको बताउनुभयो । विधेयक घरजग्गा व्यवसायलाई महत्त्व दिने गरी आएको भन्दै उहाँले गिरिबन्धु टि स्टेट, गोकर्ण सफारी पार्कका समस्या समाधानमा अनुकुल हुनेगरी ल्याइएको आरोपसमेत लगाउनुभयो ।

‘‘३४ वर्ष हुँदा पनि हामीले भूमि सुधारका कार्यक्रम ल्याउन सकेनौं । चुनाव लड्ने समयमा हामी भूमि सुधारका कुरा गर्छौं तर त्यो हामीले कार्यान्वयनमा ल्याउन सकेनौं । २१ सालमा भूमि सुधार ल्यायौं त्यतिबेला हदबन्दी कायम गर्ने कुरा आए । तर सामान्य सुधार भयो तर त्यतिबेला पनि लुकाउने काम नै भयो । यो अहिले विधेयक आउने बेलामा तराई मधेशका बस्तीहरूमा भएको समस्या, सार्वजनिक स्थानमा रहेका विद्यालय, कलेज, सामुदायिक भवन, अस्पतालहरूलाई धनीपूर्जा दिने खालका समस्या समाधानमुखी भएर अहिले पनि आएन ।,’’ सांसद पाण्डेले भन्नुभयो, ‘‘विशेष गरी यो विधेयकमा घरजग्गा व्यवसायलाई नै महत्त्व दिनेगरी आएको छ । गिरिबन्धु टि स्टेट, गोकर्ण सफारी पार्कका जग्गाका समस्याहरूको समाधानमा अनुकुल हुनेगरी ल्याइएको छ । यो विधेयकलाई साँच्चै परिवर्तनलाई अनुमोदन गर्नेगरी, परिवर्तनको अनुभूति जनतालाई दिनेगरी ल्याउने कुरा हो भने यसलाई क्रान्तिकारी ढङ्गले सुधार गर्नु जरुरी छ ।’’

उहाँले विधेयक साँच्चै परिवर्तनलाई अनुमोदन गर्नेगरी र जनताले परिवर्तनको प्रत्याभूति दिनेगरी ल्याउने हो भने क्रान्तिकारी ढङ्गले सुधार गर्न जरुरी रहेको बताउनुभयो ।